विराटनगर महानगरपालिकाको एक घरबाट दिनदहाडै लाखौं मुल्यको धनमाल चोरी भएको छ ।

विराटनगर १२ कामतचोकका राकेश यादवको घरबाट असोज ३ गते दिउँसो चोरी भएको हो । घरमा कोहिपनि नभएको मौका छोपी चोरले यादवको घरको दुई कोठामा रहेको दराज फोडेर चोरी गरेका हुन ।

चोरहरुले यादवको घरको एउटा कोठाबाट झण्डै ८ तोला सुनको विभिन्न गरगहना,आधा किलो चाँदीको गहना र नगद २५ हजार चोरी गरेका छन भने अर्को कोठाबाट आठ आना सुनको कानको झुम्का १ जोडी,१ जोडी चाँदीको पाउजु र नगद पच्चिस हजार चोरी गरेका छन ।

चोरी भएका नगद तथा गरगहनाको मुल्य १५ लाख बढी रहेको अनुमान गरिएको छ । आफु सहित घरका पारिवारिक सदस्यहरु आफन्तको मरिमराउको कर्ममा सामेल हुन गएको बखत दिउँसै चोरी भएको पीडित यादवले जानकारी दिनुभएको छ ।

बखरी प्रहरीचौकी भन्दा केहि मिटर दक्षिणतर्फ कामत चोकमा रहेको यादवको घरमा चोरहरुले घरको पछाडिको ढोका फोडी भित्र प्रवेश गरेर घरमै रहेको हथौडी र पेचकश लगायतका औजार प्रयोगगरि चोरी गरेको देखिएको छ । बिहान आफन्तको घर गएका पारिवारिक सदस्य साँझ घर फर्कदा चोरी भएको पत्ता लागेको थियो । पीडित परिवारले चोरी घटनाको बिषयमा बखरी प्रहरी चौकीमा जाहेरी दिएका छन ।

चालु आर्थिक बर्षको साउन र भदौको दुई महिनामा मोरङ जिल्लामा चोरीका ६० वटा घटनाहरुको जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता कोपिला चुँडालले बताउनुभयो । सो अवधिमा ७८ जना अभियुक्त समेत पक्राउ परेको उहाँले जानकारी दिनुभयो ।

आसन्न चाडपर्व लक्षित सुरक्षा योजना समेत चलाईएको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु