कटहरी गाउँपालिकाका मुडियारी समुदायलाई परम्परागत सांगितक बाद्य–बादन उपलब्ध गराईएको छ ।
मुडियारी समुदायको संस्कृति संरक्षण तथा प्रबर्धनगर्ने उद्धेश्य सहित सो पालिकाको वडानम्बर १ का समुदायका अगुवाहरुलाई वाद्य वादन उपलब्ध गराईएको हो । सम्बन्धित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबिच कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र वडानम्बर १ का वडाध्यक्ष हरिनारायण राजबंशीले समुदायका अगुवाहरुलाई सांस्कृतिक पहिचानसंग जोडिएको बाद्य बादन हस्तान्तरण गर्नुभयो ।
सो क्रममा उनिहरुलाई समुदायले प्रयोगगर्ने डिगा,मन्दर,दुपरिया र झुनझुनिया बाजाहरु प्रदान गरिएको थियो । यि बाजाहरु समुदायले कर्माधर्मा लगायत आफ्ना सांस्कृतिक चाडपर्व सहित पुजाआजा र विवाहमा प्रयाग गर्ने गरेको कटहरी १ का सामुदायिक अगुवा सुशील मुडियारीले जानकारी दिनुभयो ।
मुडियारी समुदाय आर्थिक,सांस्कृतिक,शैक्षिक सहितका समाजको मुल प्रवाहको विविध क्षेत्रमा पछि परेकाले उनिहरुको उत्थानकालागि पालिकाले काम गरिरहेको कटहरीका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले प्रदान गरिएको वाद्य वादनको प्रयोगबाट मुडियारी संस्कृतिको संरक्षणमा सघाउ पुग्ने विश्वास समेत ब्यक्त गर्नुभयो ।
कटहरी १ नम्बर वडा कार्यालयको ५० हजार र गाउँपालिकाको २५ हजार समेतगरि ७५ हजार बजेटबाट मुडियारी समुदायलाई हाल चारथान विभिन्न वाद्य यन्त्र उपलब्ध गराईएको तथा थप केहि बाद्ययन्त्र छिट्टै उपलब्ध गराईने वडाध्यक्ष हरिनारायण राजबंशीले जानकारी दिनुभयो ।
कटहरीको वडानम्बर १ मा झण्डै ५० घरपरिवार तथा गाउँपालिकाको वडानम्बर ५,६ र ७ मा समेत गरि झण्डै ७ सय मुडियारी परिवारको बसोबास रहेको गाउँपालिकाले जनाएको छ । ति मध्ये ५ नम्बर वडामा सबभन्दा बढी झण्डै ४ सय घर परिवारको बसोबास रहेको जनाईएको छ ।
गाउँपालिकाले यसअघि वडानम्बर ५ का बासिन्दालाई समेत यस प्रकारको बाद्य वादन उपलब्ध गराईसकेको जनाएको छ ।
