विराटनगर ३ स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो शेयर सदस्यलाई १३ प्रतिशत लाभांस वितरण गर्ने भएको छ ।
सो संस्थाको विराटनगरमा आयोजित १७ ओैं साधारणसभाबाट लाभांस वितरणगर्ने प्रस्ताव पारित भएको हो । साधारण सभाकाबिच संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद खनालले आर्थिक बर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सो प्रस्ताव गर्नुभएको थियो ।
सो सहकारीले बितेको आर्थिक बर्षमा आर्जन गरेको मुनाफाबाट शेयर सदस्यलाई उनिहरुको शेयर पूँजीको १३ प्रतिशत लाभांस बितरण गर्ने निर्णय गरेको हो । सो अवसरमा संस्थाका लेखा समिति संयोजक अविनाश निधिले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आब २०८१–८२ मा संस्थाले २ करोड १६ लाख ६५ हजार आम्दनी गरेको बताउनुभयो ।
सो अवधिमा कुल खर्च १ करोड ४२ लाख ८९ हजार खर्च भई बांकी रकममा नेपाल सरकारलाई बुझाउनुपर्ने आयकरपछि ५९ लाख १ हजार ८७ रुपैया खुद बचत गर्न सफल भएको बताउनुभयो ।
संस्थाले शेयर सदस्यलाई लाभांस बितरणका साथै संस्था आबद्ध कर्मचारीलाई २ महिनाको तलब बराबरको रकम बोनस वापत उपलब्ध गराउने निर्णय समेत भएको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खनालले बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै संस्थाका उपाध्यक्ष प्रेमबहादुर खड्काले यसअघिका बर्षहरुमा मंसिर १८ मा साधारण सभा मनाउने गरिएपनि १६ औं साधारण सभामा भएको निर्णय अनुसार यस बर्षबाट संबिधान दिवसका दिन असोज ३ मा मनाउने निर्णय गरिएको बताउनुभयो ।
सो अवसरमा संस्थाले १५ जना ज्येष्ठ शेयर सदस्यलाई दोसल्ला,सम्मानपत्र र नगद सहित सम्मान गरेको छ भने संस्थाका ब्यवस्थापक अमित रेग्मीलाई नगद ५ हजार राशि सहित पुरस्कृत समेत गरिएको छ । उहाँहरुलाई राष्ट्रिय सहकारी बैंक विराटनगरका प्रबन्धक चिरञ्जीवी तिम्सिना र संस्थाका अध्यक्ष खनालले सम्मान तथा पुरस्कार वितरण गर्नुभयो ।
बुद्धोदय सहकारीमा हाल ५ सय ३९ महिला र ४ सय २५ पुरुषगरि ९ सय ६४ जना शेयर सदस्य रहेको जनाईएको छ ।
