मोरङको बुढीगंगा गाउँपालिकामा अति विषालु गोमन प्रजातिको ‘मोनोकल्ड कोब्रा’ सर्प फेला परेको छ।
गाउँपालिका–१ उज्यालो टोल निवासी दुर्गा प्रसाद भट्टराईको घरको सिँढीमुनिबाट उक्त सर्पलाई सुरक्षित रूपमा उद्धार गरिएको हो।
सर्प उद्धार कार्य विराटनगर महानगरपालिकाका अनुभवी सर्प उद्धारक श्री शम्भु घिमिरेले सम्पन्न गर्नुभएको हो। उद्धार गरिएको सर्पलाई डिभिजन बन कार्यालय मोरङको पिँजडामा राखी आवश्यक निगरानीमा राखिएको जनाइएको छ। उद्धारका क्रममा सर्पले झोलामा हाल्ने क्रममा धेरै मात्रामा विष फालेको समेत घिमिरेले जानकारी दिनुभयो।
बुढीगंगामा फेला परेको सो सर्प यसअघि जेठ महिनामा विराटनगरको दुई स्थानमा उद्धार गरिएका मोनोकल्ड कोब्रासँग मिल्दोजुल्दो प्रजातिको भएको बताइएको छ।
जेठ १० गते विराटनगर–४ को नोबेल अस्पताल परिसर र जेठ १५ गते सोही वडाको आयल निगम नजिक धर्मदेव यादवको करेसाबारीबाट सो प्रजातिको सर्प उद्धार गरिएको थियो। पहिलो पटक उद्धारका क्रममा सर्पको विष फाल्दा उद्धारक घिमिरे घाइते समेत हुनुभएको थियो।
विशेषज्ञहरूका अनुसार, सामान्यतया मोनोकल्ड कोब्रा सर्प बिष फाल्ने प्रजातिको नभए पनि अति उत्तेजित अवस्थामा यसको केही प्रजातिले स्पिटिङ कोब्राजस्तै बिष फाल्न सक्ने अनुसन्धानहरूले देखाएका छन्। यस सर्पको बिष न्यूरोटक्सिक प्रकारको हुन्छ र मानव जीवनका लागि अत्यन्त खतरनाक मानिन्छ।
यो प्रजाति नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यान्मार, थाइल्याण्ड, चीन, क्याम्बोडिया र मलेशियालगायत देशहरूमा पाइने जनाइएको छ।
