भारतको प्रख्यात सर्टिङ–सुटिङ कपडा कम्पनी रेमण्ड ब्राण्डको शोरुम विराटनगरमा सञ्चालनमा आएको छ।
सेन्ट्रल बजार परिसरमा आयोजित एक विशेष समारोहबीच सेन्ट्रल बजारका सञ्चालक राकेश जैनले शोरुमको उद्घाटन गरे।
रेमण्ड कम्पनीले यसअघि मुख्यतया सर्टिङ र सुटिङका कपडामात्र उत्पादन गर्दै आएकोमा पछिल्लो समय तयारी पोशाक (रेडीमेड गार्मेन्ट) उत्पादनमा समेत प्रवेश गरेपछि विराटनगरमा यो शोरुम सञ्चालनमा ल्याइएको हो।
सेन्ट्रल बजारको भुइँतलामा करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको उक्त शोरुममार्फत कम्पनीका चार ब्राण्ड—पार्क एभिन्यू, पार्स, कलर प्लस र रेमण्डकै तयारी पोशाक उपलब्ध हुने जनाएको छ।

स्थानीय उपभोक्ताहरू अहिलेसम्म रेमण्ड ब्राण्डको कपडा खरिद गर्न भारतको सीमावर्ती बजार पुग्ने गरेका थिए। उपभोक्ताहरूको विशेष मागलाई मध्यनजर गर्दै यो शोरुम सञ्चालनमा ल्याइएको सञ्चालक जैनले जानकारी दिए।
उनका अनुसार सेन्ट्रल बजारले सिधै उद्योगबाट कपडा खरिद गर्ने व्यवस्था मिलाएकाले भारतीय बजारकै हाराहारी मूल्यमा अब विराटनगरमै रेमण्डका तयारी पोशाक उपलब्ध हुनेछन्।
