विराटनगर । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल जिएसआई सैन्य गठबन्धनमा सामेल भए नेपालको असंलग्न पराष्ट्र नीति विपरित हुने बताउनुभएको छ ।
प्रधानमन्त्री केपि शर्मा ओलीको चिन भ्रमणको क्रममा त्यहाँको सरकारले सार्वजनिक गरेको सूचनामा नेपाल ग्लोबल सेक्यूरिटि ईनिसिएटिभ (जीएसआई) को अंग बनेको कुरा सार्वजनिक भएको बताउनुभयो । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले जीएसआई सैन्य गठबन्धन जस्तो अंग भएको र त्यो नेपालको असंलग्न पराष्ट्र नीति विपरितको कुरा भएको दाबी गर्नुभयो ।
उहाँले चाईना सरकारले त्यस प्रकारको सूचना जारी गरिरहँदा प्रधानमन्त्री वा नेपाल सरकारबाट त्यसको पुष्टि वा खण्डनको कुरा नबाहिरिएको बताउनुभयो । पुर्व उपप्रधानमन्त्री समेत भईसक्नु भएका महतोले चाईना सरकारले सार्वजनिक गरेको सूचना सत्य भए यो कदम भत्र्सना योग्य रहेको बताउनुभयो ।
जीएसआई जस्तो कुनैपनि गठबन्धनमा नेपाल सामेल हुँदा त्यसले नेपालको सार्वभौमिकतामा आँच आउनसक्ने उहाँले दाबी समेत गर्नुभयो । प्रधानमन्त्री र सरकारले यो बिषयमा तत्काल वास्तविकता सार्वजनिक गर्नुपर्ने उहाँको भनाई थियो ।
सोहि क्रममा अध्यक्ष महतोले काठमाडौँ केन्द्रित निर्णायक आन्दोलनको तयारी भइरहेको जानकारी समेत दिनुभयो । उहाँले मधेसवादी राजनीतिक दलहरू र हिमाल–पहाडका आदिवासी जनजाति मिलेर अधिकार प्राप्तिको निर्णायक आन्दोलनको तयारी भइरहेको बताउनुभयो ।
आन्दोलन कहिले शुरु हुन्छ भन्ने पत्रकारको जिज्ञासमा उहाँले सो बिषयमा मधेसवादी दलका शिर्ष नेता तथा अधिकारविहीन वर्गसँग निरन्तर छलफल र संवाद भइरहेको बताउनुभयो । आउँदो केही समयमै आन्दोलनको औपचारिक घोषणा हुने र हिमाल, पहाड, तराई–मधेसका अधिकार विहीन जातजातिको संयुक्त आन्दोलन सुरु हुने उहाँको भनाई थियो ।
मुलुकलाई बहुल राष्ट्र राज्यको रुपमा स्थापित नगरेसम्म शोषित,पीडित र उपेक्षितहरुको सवाल सम्बोधन हुननसक्ने बताउनुहुँदै उहाँले अहिले मुलुकमा शासन गरिरहेको नेपाली काँग्रेस र नेकपा एमालेको सरकार आ–आफ्नो लुटतन्त्र ढाकछोप गर्न बनाईएको सरकार रहेको दाबी समेत गर्नुभयो ।
