विराटनगर । तेली कल्याण समाजको जिल्ला तथा नगर समितिले थप समन्वयकारी भुमिका खेल्नुपर्ने आवश्यकता रहेको भन्दै वडाध्यक्षहरुले पारदर्शी र साझा सहभागितामा आधारित कार्यशैली अपनाउन सुझाव दिएका छन ।

समितिको विराटनगर महानगरपालिकाका वडाध्यक्षहरुको भेलाले यस्तो सुझाव दिएको हो । तेली कल्याण समाज नेपाल,वडा कार्यसमिति २ र ३ ले आयोजना गरेको छलफलका सहभागी समाजका वडाध्यक्षहरुले यस्तो सुझाव दिएका हुन ।  तेली कल्याण समाज १ नम्बर वडाका वडाध्यक्ष पुष्पकुमार साहले नगर नेतृत्व समाजलाई अघि बढाउन खासै चासो नदिएको आरोप लगाउनुभयो ।

उहाँले नगर कमिटि गठन भएको २ बर्षसम्म एकपटकपनि बैठक नबोलाएको बताउनुहुँदै जिल्ला र नगर कमिटिले वडाध्यक्षहरुसंग सरसल्लाह नगरी आफुखुशी कार्यक्रम गर्ने गरेको आरोप समेत लगाउनुभयो ।

समितिको विराटनगर १९ का वडाध्यक्ष जितनारायण साहले नियमित बैठक नबस्दा समितिको जिल्ला र नगरमा अन्तरद्वन्द देखिएको बताउँदै त्यस्तो अवस्था अन्त गर्नुपर्ने बताउनुभयो । सामुदायिक हितका कार्यक्रमहरुमा तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुहुँदै उहाँले जिल्ला र नगरले आफुखुशी कार्यक्रम डिजाईनगर्ने प्रबृति अन्त गरेर सबैलाई अपनत्व ग्रहण गर्नेगरि कार्यक्रम गर्नुपर्ने धारणा राख्नुभयो ।

वडानम्बर ९ का वडाध्यक्ष रामविलास साहले संस्था चलाउन कोषको ब्यवस्थापन नगर्ने तर कार्यक्रम पिच्छै समुदायबाट रकम संकलन गर्ने प्रबृतिले समुदायमा नकारात्मक संदेश गएको बताउनुभयो । उहाँले संकलन हुने रकमको खर्च हिसाब किताब सार्वजनिक नगर्दा थप नराम्रो सन्देश गएको भन्दै जिल्ला तथा नगर नेतृत्वले यसबिषयमा गम्भिर हुनुपर्ने बताउनुभयो । पदीय जिम्मेवारी वहन नगर्नेलाई कारवाही गर्नुपर्ने समेत उहाँको भनाई थियो ।

विराटनगरका १२ का वडाध्यक्ष सत्यनारायण साहले वडागत तहमा तेली समुदायको शिक्षाको अवस्थाका साथै डाक्टर,ईन्जिनियर,बुद्धिजीवी र कर्मचारीहरुको तथ्यांक संकलन गर्नुपर्ने बताउनुभयो ।

वडानम्बर ११ का अभियन्ता मनोजकुमार साहले समुदायका अगुवाहरुले राजनीति भन्दा माथि उठेर जातिय कल्याणका निम्ति फुटेर भन्दापनि जुटेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । यस्तै ४ नम्बरका वडाध्यक्ष दिलिप साह, ६ नम्बरका रामप्रसाद साह लगायतले समितिको गतिविधि संचालन गर्न स्थायि कोष बनाउनुपर्ने र बैंकिङ माध्यमबाट मात्र खर्च गर्नुपर्ने ब्यवस्था हुनुपर्ने बताउनुभयो ।

आयोजक वडानम्बर २ र ३ का वडाध्यक्ष निशान्त साहले संगठनलाई बिधिसम्मतरुपमा चलायमान बनाउन तथा संस्थाको गतिविधिलाई थप तिब्र बनाउन कार्यक्रम गरिएको बताउनुभयो ।

विराटनगरको १९ वडामध्ये विभिन्न १५ वटा वडामा तेली कल्याण समाजको वडा समितिहरु छन । तिमध्ये कार्यक्रममा ११ वटा वडाका वडाध्यक्षहरुको उपस्थिति थियो । उनिहरुले समाजले आयोजना गरेको पिकनिक र साधारणसभा को खर्च सार्वजनिक नगरेकोमा समेत आपत्ती जनाएका थिए । बैठकले आगामी रथयात्राबाट बर्षेनी समाजको ब्यानरमा झाँकी निकाल्ने र मासिकरुपमा प्रत्येक वडाध्यक्षहरुको आयोजनामा अन्तिम शनिवारकादिन बैठक बस्ने निर्णय समेत गरेको छ ।

सो बिषयमा प्रतिक्रिया लिन सम्पर्क लिन खोज्दा महानगर अध्यक्ष संजय साहलाई सम्पर्क गर्न खोज्दा उहाँको फोन उठेन । उता जिल्ला अध्यक्ष डाक्टर बालकृष्ण साहले भने छलफल आयोजक वडानम्बर २ र ३ का अध्यक्ष निशान्त साह पछिल्लो समय समाजको गतिविधिमा निष्कृय रहेको दाबी गर्नुभयो । उहाँले संस्थाले आफ्नो क्यालेण्डर अनुसारका गतिविधिहरु नियमित गरिरहेको बताउनुहुँदै खर्चको हिसाब किताबहरु साधारण सभामा नियमित प्रस्तुत गर्ने गरिएको जानकारी समेत गराउनुभयो ।

विराटनगरमा तेली समुदायका ८ हजार मतदाता रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु