खट्यात्रा शुरु भएको ९४ औं तथा रथयात्राको ५७ औं संस्करणको यस पटकको श्रीराधाकृष्ण रथयात्रामा नयाँ रथको प्रयोग गरिनुका साथै रथयात्रा बिशेष गीत समेत घन्किने भएको छ ।

विराटनगरको एतिहासिक श्रीराधाकृष्ण रथयात्राको परिवेश र महत्वलाई समेटेर पहिलो पटक म्युजिक भिडियो गीत निर्माण गरिएको छ । ‘सनातनीको गौरव’ बोलको सो गीत मैथिली अनलाइनको युट्यूब च्यानलमा सार्वजनिक गरिएको छ । श्रीराधाकृष्ण मन्दिर समितिले साउन ३१ गते आयोजना गरेको धार्मिक सभा कार्यक्रमकाबिच विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले गीतको बिमोचन गर्नुभयो ।

पत्रकार नवीन कर्णको शब्द रहेको गीतमा संगितकार सुरज श्रेष्ठले संगित भर्नुभएको छ भने गायक प्रवलदीप विश्वास र सुनिता कट्वालको स्वरले यो गीत सजिएको छ । यस्तै पिन्टू सन्याल,नितु चौधरी,रोहित पटेल र बर्षा गड्तौलाले गीतको कोरसमा आवाज भर्नु भएको छ । विराटनगरको बिट्स रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको यस गीतको मिक्सिङ र मास्टरिङ समेत संगितकार श्रेष्ठले नै गर्नुभएको छ ।

गीतको म्यूजिक भिडियोमा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक,पत्रकारद्वय नवीन कर्ण र अनुज सापकोटाले अभिनय गर्नुभएको छ भने श्रीराधाकृष्ण मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मी,उपाध्यक्ष नन्दकिशोर राठी,सचिव कृष्ण बहादुर कार्की र मन्दिर सचिव निर्मल पौडेलले मुख्य भुमिका निर्वाह गर्नुभएको छ ।

गीतको म्यूजिक भिडियोको निर्देशन कात्र्तिक राजवंशी,रंग संयोजन पवन कुमार सहनी र छायांकन धिरेन साहले गर्नुभएको छ ।

गीतमा रथयात्राको एतिहासिकता यस्को गरिमा र महत्वका साथै रथयात्राले समाज तथा विश्व जगतमा प्रवाहगर्ने सन्देशलाई समेटिएको निर्मात्री विनिता कर्णले बताउनुभयो । यस गीतलाई रथयात्रासंग प्रत्यक्ष जोड्न निर्माण पक्षले तिन दशक बढी समयदेखी रथ संचालनमा सारथीको भुमिका निर्वाहगर्दै आउनुभएका पण्डित भवानी शंकर निरौलाको आवाजलाई समेत समेटेको छ ।

पण्डित निरौलाले रथयात्रा संचालनको क्रममा रथबाट उद्घोष गर्दै आउनुभएको ‘गोपालकृष्ण,राधेकृष्ण’ को मौलिक शैली निकै लोकप्रिय छ । निर्माण पक्षले उहाँको सोहि शैलीको अवाजलाई समेत गितमा समेटेको छ ।

विक्रमसम्बत १९८८ सालबाट मनाउन शुरु गरिएको श्रीराधाकृष्ण रथयात्रा सनातन धर्मालम्बी माझ विश्वब्यापीरुपमा आस्थाको केन्द्रको रुपमा स्थापित भईसकेको भएपनि रथयात्राकै गरिमालाई समेटेर बिगतमा कुनैपनि गीत नबनेको अवस्थामा मैथिली अनलाइनसंगको सहकार्यमा रथ बिशेष गीत निर्माण गरिएको राधाकृष्ण मन्दिरका सचिव कृष्णबहादुर कार्कीले बताउनुभयो । मन्दिर समितिका अध्यक्ष रेग्मीले रथयात्राको गरिमालाई सांगितिक कोसेली मार्फत अझ प्रचारप्रसार तथा बिस्तारगर्ने उद्धेश्यसहित गीत निर्माण गरिएको बताउनुभयो ।

यसबर्षको रथयात्रामा नयाँ रथ महागगरको सडकमा गुडने छ भने रथ बिशेष गीत समेत निर्माण भएपछि त्यसले रथयात्रामा अझ उत्साह थपिने विश्वास गरिएको छ ।

सम्बन्धित खबरहरु