श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट भदौ १ गते विराटनगरमा निकालिने श्रीराधाकृष्ण रथयात्राकालागि निर्माणाधिन नयाँ रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
साउन २५ गतेसम्म रथ निर्माणको काम सम्पन्न गर्नेगरि यतिखेर तिब्र गतिमा निर्माण कार्य हुँदैछ । रथयात्राको मिति नजिकिंंदै जाँदा रथको निर्माण कार्य समेत तिब्र बनाईएको छ । बितेको बैशाख महिनाबाट शुरु भएको नयाँ रथको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यतिखेर बुट्टा कुँदिएका काठका पिलर तथा रेलिङहरुको जडान तथा रथको रंगरोगनको कार्य भईरहेको छ ।
रथ निर्माणमा झण्डै ३ हजार किलो फलामको प्रयोग गरिएको छ भने लगभग २ सय ५० किवि सखुवा तथा सिसौको काठ प्रयोग भएको छ । भदौ २५ गतेसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित निर्माण समिति र कालीगढहरु अहोरात्र खटिरहेको श्रीराधाकृष्ण रथयात्रा समारोह समिति २०८२ का अध्यक्ष कैलाश रेग्मीले जानकारी दिनुभयो ।
रथ निर्माण सम्पन्न भएपछि यस्को तौल झण्डै ७ हजार किलोको हुने अनुमान गरिएको छ । विराटनगर महानगरपालिकाको ४४ लाख ७७ हजार लगानीबाट रथको निर्माण कार्य हुँदैछ । रथ निर्माणका निम्ति कपिल भण्डारीको संयोजकत्वमा ७ सदस्यिय रथ निर्माण समिति गठन गरिएको छ ।
नयाँ रथको काठ सम्बन्धि कामहरु शिवजी शर्मा,फलामको काम विजय राजवंशी र बिजुलीको काम दिनानाथ मण्डलले गरिरहनुभएको छ भने भारत बंगालका रंजय शर्मा र ग्रामथान झोराहाटका सुशिल सरदारले रथमा बुट्टा कुँदने काम गरिरहनु भएको छ । यसअघि २०२५ सालमा निर्माण भएको रथ जीर्ण र साँघुरो भएका कारण त्यसलाई बिस्थापितगरि नयाँ रथको निर्माण हुँदैछ ।
नयाँ रथको चौडाई १४ फुट,लम्बाई १९ फिट र उँचाई २१ फिट छ । नयाँ रथमा भगवानलाई बिराजमान गराईने कोठा १० फिटको बनाईएकाले दर्शनार्थीले सडकक्षेत्रबाट सहजै दर्शनगर्न पाउने निर्माण समिति सदस्य कमलप्रसाद घिमिरेले बताउनुभयो ।
रथयात्रामा विविध धर्म समुदायका मानिसहरुको सहभागिता,जातिय ,सांस्कृतिक झाँकी तथा हेलिकप्टरबाट पुष्पबृष्टि लगायतका कार्यक्रमले यस्को भब्यता र गरिमालाई थप बढाउने गरेको छ । यसपटक भने भारतका तिनराज्यहरु बिहार,पश्चिम बंगाल र सिक्किमका मुख्यमन्त्रिहरुलाई कार्यक्रममा सहभागि गराउने पहल भईरहेको मन्दिर समितिका सचिव कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो ।
२०८२ सालको रथयात्रामा ५७ बर्षपछि नयाँ रथको प्रयोग हुनेभएपछि आम सर्वसाधारण तथा दर्शनार्थीमा थप कौतुलहता बढेको छ ।




