सनातन धर्म सेवा समिति मोरङले देशभरिका विभिन्न ६ वटा संघसंस्थालाई पुरस्कृत गरेको छ ।
बैदिक सनातन धर्म संस्कृतिको संरक्षण तथा प्रबर्धनमा योगदानको कदरगर्दै समितिले देशभरिबाट छनौट भएका संस्थाहरुलाई पुरस्कृत गरेको हो । समितिले आफ्नो साधारण सभाको अवसर पारेर विराटनगरस्थित कार्यालय परिसरमा आयोजित कार्यक्रमकाबिच छनौट भएका संघसंस्थाहरुलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत भएका संस्थाहरुमा झापाका विभिन्न ३ वटा संस्था छन भने काठमाण्डौ तथा विराटनगरको एक÷एक र भोजपुरको एउटा संस्था रहेको सचिव पण्डित माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । कार्यक्रमकाबिच झापाको गौरादहस्थित जानकिश्वर गुरुकुल विद्यालयलाई शिवदत्त रमादेवी भट्टराई वैदिक धर्म संस्कृति पुरस्कार,झापाकै साधुटारस्थित वेदवेदाङ संस्कृत पाठशालालाई किसनलाल रुक्मिणीदेवी राजगढिया धर्म संस्कृति पुरस्कार तथा अर्जुनधारा झापाको कालिका संस्कृत विद्यापीठलाई आसकरण यशोदादेवी बैदिक धर्म संस्कृति पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै काठमाण्डौबाट २ दशकदेखी निरन्तर प्रकाशित हुँदै आएको गौरी आध्यात्मिक पत्रिकालाई ओमप्रकाश उषादेवी गोयल वैदिक धर्मसंस्कृति पुरस्कार तथा विराटनगरको रुदे्रश्वर शिवालयलाई गंगाबिशन राठी स्मृति शिक्षा सनातन धर्म पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै भोजपुरको अरुण आध्यात्मिक प्रतिष्ठानलाई बलभद्र रिजाल नारायण बिष्णु हिन्दू धर्म सेवा सम्मान पुरस्कार प्रदान गरिएको छ । सनातन धर्म सेवा समितिका केन्द्रीय सभापति माधव प्रसाद न्यौपाने र मोरङ सभापति कविराज न्यौपानेले उहाँहरुलाई नगद,दोसल्ला र कदरपत्रसहित पुरस्कृत गर्नुभयो ।
छ वटै संस्थालाई प्रदान गरिएको पुरस्कारको राशि जनही २१ हजार नगद रहेको संस्थाका सदस्य प्रकाशदत्त भट्टराईले जानकारी दिनुभयो । साधारणसभाकाबिच कोषाध्यक्ष शिरोमणि भट्टराईले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
विराटनगरको वडानम्बर २ सोमबारे हाटमा रहेको १ कट्ठा ५ धुर जग्गामा सनातन धर्म सेवा समितिको आफ्नै दुईतले भवन छ । हाल समितिमा २ सय २५ जना सदस्य रहेको जनाईएको छ ।
