विराटनगर–१० स्थित नेशनल एकेडमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई लक्षित गरी स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयको ३१ औं ब्याच अन्तर्गत भर्ना भएका विद्यार्थीहरूलाई विविध कार्यक्रमसहित औपचारिक रुपमा स्वागत गरिएको हो।

कार्यक्रममा एकेडेमीका प्रिन्सिपल सकलदेव साहले विद्यालयले विज्ञान, व्यवस्थापन, शिक्षा र होटल म्यानेजमेन्ट संकायमा गरी कुल १ सय ८१ जना विद्यार्थी भर्ना भएको जानकारी दिनुभयो। उहाँले सबै वर्गका विद्यार्थीलाई सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ शिक्षण कार्य सञ्चालन भइरहेको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित विराटनगर–१० का वडाध्यक्ष अर्जुन गिरिले वर्तमान समयमा सीपमूलक शिक्षाको आवश्यकता औंल्याउँदै विद्यार्थी तथा अभिभावक दुवै सचेत हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले जीवनमा सफल हुन केवल किताबी ज्ञान पर्याप्त नहुने बताउँदै व्यवहार, सीप र संस्कारयुक्त शिक्षाको खाँचो रहेको धारणा व्यक्त गर्नुभयो।

उक्त अवसरमा आमन्त्रित शिक्षाविद्हरुले अध्ययनको महत्वबारे उत्प्रेरक मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउँदै विद्यार्थीहरूले नाचगान प्रस्तुत गर्दै रमाइलो समेत गरेका थिए।

सम्बन्धित खबरहरु