विराटनगर र कटहरीका नेवार समुदायका युवायुवतीलाई लक्षित गर्दै परम्परागत लाखे नाच र धिमे बाजा सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ।

नेवाः देय् दबु विराटनगर समितिको आयोजनामा कटहरी गाउँपालिका–१ स्थित कृषि बजार परिसरमा भइरहेको तालिममा विराटनगर महानगरपालिकाका वडा नम्बर १, २ र ५ तथा कटहरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ का ३५ जना नेवार युवायुवती सहभागी भएका छन्।

समितिका अध्यक्ष दीपक प्रधानका अनुसार परम्परागत कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनका लागि तालिमको आयोजना गरिएको हो। “पुरातनकालदेखि चलिआएको संस्कृति युवापुस्ताले बिर्संदै गएकाले यसको पुनः जागरण आवश्यक भएको महसुस गर्यौं,” अध्यक्ष प्रधानले भने।

प्रशिक्षण प्रशिक्षक विप्लव प्रधानको टोलीद्वारा दिइँदैछ। पश्चिमी संस्कृति र पप संगीततर्फ युवाहरूको बढ्दो आकर्षणबीच मौलिक पहिचानप्रति उनीहरूको चेतना अभिवृद्धि गर्न तालिम प्रभावकारी हुने विश्वास आयोजक समितिका कोषाध्यक्ष रामकृष्ण ताम्राकारले व्यक्त गरे।

उनका अनुसार यो कार्यक्रम समितिले आफ्नै पहलमा आर्थिक स्रोत जुटाएर सञ्चालन गरेको हो।

नेवार समुदायमा नागपञ्चमीका दिनबाट सुरु हुने लाखे नाचको परम्परा रहेको छ। झीः पुचः मन्दिरमा देवी बगलामुखी भगवतीलाई ढोग भेंट गरी मन्त्र लिने परम्परासँगै लाखे नाच सुरु गरिन्छ। गाईजात्रा सम्पन्नपछिको दिन लाखे नाच टोलीले विभिन्न नेवार समुदायका घरघरमा पुगेर नृत्य प्रस्तुत गर्छन्।

यसपछि विराटनगरको ऐतिहासिक श्री राधाकृष्ण रथयात्रामा सहभागिता जनाएपछि मात्र यो नाचको समापन गरिन्छ।

सम्बन्धित खबरहरु