विराटनगर १२, बखरीका बासिन्दाले अब विराट रानी आँखा अस्पतालबाट निःशुल्क ओपीडी सेवा पाउने भएका छन्।

विराटनगर महानगरपालिका वडा नं. १२ का बासिन्दालाई लक्षित गरी उक्त अस्पतालले निःशुल्क आँखा जाँच सेवा उपलब्ध गराउनुका साथै आँखा उपचारसम्बन्धी अन्य सेवाहरूमा २५ प्रतिशतसम्म छुट दिने भएको हो।

यस सम्बन्धमा विराटनगर ९, पाञ्चाली मोडस्थित विराट रानी आँखा अस्पताल र वडा नं. १२ को वडा कार्यालयबीच सम्झौता सम्पन्न भएको छ। वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक कमलेश कुमार कर्ण र वडा नं. १२ का कार्यवाहक वडाध्यक्ष कुशेश्वर राजवंशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

अस्पतालका प्रशासन विभाग प्रमुख रामकुमार पण्डितका अनुसार, सम्झौताको पहिलो चरण दुई वर्षको अवधिका लागि गरिएको हो। सम्झौता अन्तर्गतका सेवा लिन वडा नं. १२ भित्रका बासिन्दाले बसोबासको प्रमाणित कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

अस्पतालले निकट भविष्यमै महानगरका अन्य वडासँग पनि यस्तै प्रकारको सम्झौता गर्ने तयारी गरिरहेको जनाएको छ।

२०८२ माघ १७ गतेदेखि संचालनमा आएको विराट रानी आँखा अस्पतालले हालसम्म १५ हजारभन्दा बढीलाई आँखा उपचार सेवा प्रदान गरिसकेको जानकारी दिइएको छ।

सम्बन्धित खबरहरु