बराहक्षेत्र २५ असार । स्वामी नारायण सम्प्रदायका बरिष्ठ धर्माचार्य महोपाध्याय भद्रेस दास स्वामी सहित अन्य स्वामी तथा प्राध्यापकहरूको एक प्रतिनिधि टोलीले सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र धामको दर्शन भ्रमण गरेका छन् ।

दर्शन भ्रमणको क्रममा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरे सहित बराहक्षेत्रधामका पुजारीहरूद्वारा संस्कृतका विद्वान समेत रहनुभएका दास सहित टोलीको स्वागत गरिएको हो ।

बराहक्षेत्र मन्दिर परिसरमा बुधबार आयोजित औपचारिक कार्यक्रमकाबिच सचिव घिमिरे सहित श्रीहरि सत्संग समितिका अध्यक्ष भीखमचन्द सरल,समितिका विराटनगर सम्भाग उपाध्यक्ष महेश स्वर्णकार तथा बराक्षेत्र धामका पण्डित योगेश भण्डारी लगायतले उहाँलाई नेपाली टोपी,दोसल्ला तथा रुद्राक्षको माला सहित स्वागत गर्नुभयो ।

स्वामी नारायण सम्प्रदायका संस्थापक भगवान स्वामी नारायण नेपाल भ्रमणका क्रममा करिब २ सय ३० वर्षअघि बराहक्षेत्रधाम समेत आएको विश्वास गरिन्छ । सोही ऐतिहासिक पदचिन्हलाई पछ्याउँदै महोपाध्याय भद्रेस दास स्वामीले पनि यो पवित्र स्थलको दर्शन गर्नुभएको हो ।

भद्रेस दास स्वामी बिएपीएस सम्प्रदायका एक उच्च विद्वान् तथा आध्यात्मिक मार्गदर्शक हुनुहुन्छ । उहाँ धर्म, दर्शन, संस्कृत साहित्य र आध्यात्मिक शिक्षामा विशेष दख्खल राख्ने व्यक्तित्व रहनु भएको जनाईएको छ । उहाँले विश्वका विभिन्न मुलुकहरूमा प्रवचन, धार्मिक कार्यक्रम तथा हिन्दू संस्कृतिको प्रवद्र्धनमा विशेष योगदान दिनु भएको छ ।

उहाँको बराहक्षेत्रधामको भ्रमणले नेपाल–भारत धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास स्थानीय धर्मप्रेमीहरूले व्यक्त गरेका छना । स्वामी नारायण सम्प्रदायका धर्माचार्यहरुको यो भ्रमणले बराहक्षेत्रधामको धार्मिक महत्वलाई पुनः एकपटक उजागर गरिदिएको छ । स्वामी नारायण सम्प्रदाय हिन्दू धर्मको एक प्रमुख सम्प्रदाय हो, जसको स्थापना भगवान् स्वामी नारायण ले इस्वी सम्बत १७८१ मा गर्नुभएको जनाईएको छ ।

स्वामी नारायण सम्प्रदायको भारतभरि १ हजार बढी र नेपालको काठमाण्डौ,विराटनगर,बिरगंज र भैरहवा लगायतका स्थानमा ८ बढी मन्दिर रहेको जनाईएको छ ।

सम्बन्धित खबरहरु