असार १४ । विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रामा यस पल्ट रथ परिवर्तन हुने भएको छ । यसअघिको रथ जीर्ण भएकाले ५७ बर्षपछि नयाँ रथ निर्माण गरिंदै छ ।
वराटनगरको धार्मिक र सांस्कृतिक गौरवसंग जोडिएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रामा यसपटक नयाँ रथ प्रयोग गरिने भएको छ । यसअघिको रथ जीर्ण भएपछि नयाँ रथ निर्माणगरि प्रयोग गरिने भएको हो । पुरानो रथ जीर्ण भएपछि यतिखेर नयाँ रथ निर्माणको क्रममा छ ।
यसअघिको रथ २०२५ सालमा निर्माण गरिएको थियो । त्यसअघि मन्दिर परिसरबाट काँधमा खट बोकेर नगर परिक्रमा गराउने चलन थियो । १९८८ सालमा खट्यात्रा शुरु भएकोमा २०२५ बाट आधुनिक गुड्ने रथ प्रयोग गर्न थालिएको ईतिहास छ । प्रयोग भएको ५७ बर्षपछि सो रथ परिर्वतन गर्न लागिएको छ ।
विराटनगर महानगरपालिकाको ४४ लाख ७८ हजार रकमबाट नयाँ रथ निर्माणको काम भईरहेको रथ निर्माण समितिका सचिव निर्मल पौडेलले जानकारी दिनुभयो । नयाँ निर्माण हुँदै गरेको रथ बिगत भन्दा फरक स्वरुपको हुनेछ । सुरुवातमा खट्यात्रामा प्रयोग गरिएको ढांचालाई नै नयाँ रथको स्वरुप दिन लागिएको हो ।
यसअघिको रथमा अधिकांश काठको प्रयोग गरिएको थियो भने नयाँ रथको सतह फलामको र माथिको भाग काठको निर्माण हुँदैछ । झण्डै एकहजार किलो फलाम प्रयोगगरि रथको चक्का र बेस तयार गरिएको छ भने जंगली सिसौ र सखुवाको काठमा आर्कषक बुट्टा खपेर रथको निर्माण हुँदैछ ।
लामो समयसम्म टिकाई राख्न काठहरुलाई सिजनिङ गरिएको रथ निर्माण समितिका सदस्य कमल प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
बिगतको रथ र नयाँ रथको स्वरुप,आकार प्रकारमा समेत फरक छ । बिगतको रथको चौडाई १२ फुट,लम्बाई १६ फिट र उँचाई १८ फिट थियो भने नयाँ रथको चौडाई १४ फुट,लम्बाई १९ फिट र उँचाई २१ फिट हुनेछ । यसअघिको रथमा भगवानलाई बिराजमान गराउने आसन सांघुरो थियो भने नयाँ रथमा १० फिटको आर्कषक कोठा हुनेछ । रथलाई नियन्त्रणगर्न ट्रकको हाईड्रोलिक ब्रेक प्रयोग गरिएको छ ।
२०८२ बैशाख १४ बाट रथको फलामको काम शुरु भएको थियो भने जेष्ठ १२ बाट काठको काम शुरु भएको छ । दैनिक १० जना कालिगढहरुले नियमितरुपमा रथ बनाउने काम गरिरहेका छन ।
आउँदो भदौ १ गते रथयात्रा निकालिने मिति अगावै रथ तयार गर्नुपर्ने चुनौति भएकाले निर्माण समिति अहोरात्र खटिएर निर्माण कार्यमा जुटेको छ ।