असार ११ । ‘बिस्तारै जाँदापनि गन्तव्यमा पुग्न सकिन्छ’ भन्ने सन्देश फैलाउने उद्देश्यसहित विराटनगरमा अनौठो स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा ट्राफिक सप्ताह–२०८२ को अवसरमा विराटनगर विमानस्थलको पार्किङ क्षेत्रभित्र आयोजित सो प्रतियोगितामा मोरङ र सुनसरीका ३६ जना युवा मोटरसाइकल चालकले सहभागिता जनाए ।

३५ मिटरको दुरी सबभन्दा ढिलो समयमा पार गर्नुपर्ने नियम रहेको सो रेसमा मोरङ, धनपालथान–३ का निरज गच्छदार प्रथम भएका छन् । उनले १ मिनेट ३१ सेकेण्डमा उक्त दुरी पार गरेका थिए । सुनसरी, बर्जु गाउँपालिका–१ का सृजन कुमार राय १ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थानमा रहँदा सोही पालिकाका रामप्रकाश कामत १ मिनेट २३ सेकेण्डको समयसहित तेस्रो भए ।

विजेताहरुलाई क्रमशः नगद ८ हजार, ५ हजार र ३ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले गर्नुभयो ।

सो अवसरमा बोल्दै प्रमुख लम्सालले ट्राफिक जनचेतनामूलक सन्देश फैलाउन कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुर्घटना न्यूनीकरण गर्न गति घटाउनु जरुरी छ । यस कार्यक्रममार्फत बिस्तारै गइए पनि सुरक्षितरूपमा लक्ष्यमा पुग्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो ।“

प्रतियोगितामा खुट्टा टेक्न नपाइने, मोटरसाइकल स्टार्ट बन्द हुनु नहुने र सन्तुलन कायम राख्दै तय गरिएको दुरी सबैभन्दा ढिलो पार गर्नुपर्ने नियम थियो ।

सम्बन्धित खबरहरु