विराटनगर असार ७ । मुलुकमा ब्यवस्था फेरिएपनि मुसहर समुदायको अवस्था नफेरिएको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

नेपाल राष्ट्रिय मुसहर संघ कोशी प्रदेशको प्रथम अधिवेशनमा बोल्ने वक्ताहरुले ब्यवस्था परिवर्तन भएपनि मुसहरहरुको अवस्थामा खासै परिर्वतन नआएको बताएका हुन । संघका राष्ट्रिय अध्यक्ष चन्देश्वर सदाले अझपनि ९५ प्रतिशत मुसहर समुदाय भूमिहिन तथा ४० प्रतिशत नागरिकता विहीन रहेको तथ्यांक प्रस्तुत गर्नुभयो ।

उहाँले २०७२ को संविधानमा उल्लेख भएका मौलिक हक समेत मुसहर समुदायले उपभोग गर्न नपाएको दाबी गर्नुभयो । शिक्षा,स्वास्थ्य,राजनितिक,आर्थिक तथा समाजिक सबै क्षेत्रमा मुसहर समुदाय समाजको पिंधमा रहेपनि उत्थानकालागि खासै पहल नभएको गुनासो गर्नुभयो ।

अध्यक्ष सदाले झापा,मोरङ,सुनसरी,उदयपुर र मधेश प्रदेशका जिल्लाहरुलाई समेत पायक पर्नेगरि सुनसरीको ईटहरीमा मुसहर समुदायका कुल देवता दिनाभद्रीको नाममा सेवा सदन निर्माणगर्न तिनै तहका सरकारले पहल गर्नुपर्ने माग गर्नुभयो । उहाँले निर्माण गरिने उक्त सदन सामुदायिक छलफल तथा चेतना अभिबृद्धिमा सहायक हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।

नेपाल राष्ट्रिय मुसहर संघकका राष्ट्रिय उपाध्यक्ष नथुनी माझीले मुसहर समुदाय पछि पर्नुमा जाति ब्यवस्था मुख्य कारक रहेको बताउँदै राजनितिक दलहरुले जाति ब्यवस्था अन्तगर्न बिशेष पहल गर्नुपर्ने बताउनुभयो । उहाँले अझपनि मुसहर समुदाय भेदभाव र उपेक्षाको शिकार हुनुपरिरहेको दाबी गर्नुभयो ।

कोशी प्रदेश सभा सदस्य सपना परियारले समुदायको उत्थानकालागि परम्परागत योजना भन्दापनि नयाँ योजनाहरु ल्याउनुपर्ने आवश्यकता माथि जोड दिनुभयो । उहाँले अब पनि झाडा टार्ने योजना भन्दापनि मुसहर समुदायको सामाजिक,आर्थिक र राजनितिक रुपान्तरणकालागि दीगो विकासका योजना ल्याउनुपर्ने बताउनुभयो ।

परियारले मुसहर आयोगको गठन गरेर समुदाय रुपान्तरणको प्रयास गर्नुपर्ने धारणा समेत राख्नुभयो । अर्का प्रदेश सभा सदस्य अमृत अर्यालले संगठित प्रयासबाट मात्र समुदायको उन्नयन सम्भव हुने बताउनुभयो । उहाँले दलित कोटाहरुमा निश्चित जातिहरुले मात्र अधिपत्य जमाउन पुगेकालेपनि मुसहर समुदाय पछि परेको बताउनुभयो । प्रदेश सभा सदस्य अर्यालले मुसहर आयोग गठनकानिम्ति केन्द्रीय कमिटिमा छलफल गर्ने समेत बताउनुभयो ।

नेपाली काँग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ताले समृद्ध र सबल नेपाल निर्माण गर्न सबै जाति बर्गहरुको उत्थान आवश्यक रहेकाले मुसहर समुदायको उत्थानका निम्ति बिशेष योजना ल्याउनुपर्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु