स्वस्थ, सभ्य र नैतिकवान समाज निर्माण गर्न योग अत्यन्तै सहायक हुने भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा श्रीहरि सत्संग समिति नेपाल, मोरङ जिल्ला समितिले विराटनगरको गीता मन्दिर परिसरमा आयोजना गरेको योग शिविरमा बोल्ने अधिकांश वक्ताले उक्त विषयमा जोड दिएका थिए ।

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले पछिल्लो समय आधुनिक जीवनशैलीको विकाससँगै आत्महत्या, लागूऔषध दुव्र्यसन, जालझेल लगायतका गतिविधिहरू बढ्दै गएको बताउनुभयो । यस्तो अवस्थामा धर्मलाई योगसँग जोडेर लगे आम जनजीवनमा सकारात्मकताको विकास हुने धारणा राख्नुभयो ।

कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले योगमार्फत निरोगी र स्वस्थ जीवन प्राप्त गर्न सकिने भएकाले योगलाई जीवन पद्धतिको रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले योगले मानिसमा सदाचार, नैतिकता र सामथ्र्यको समेत विकास गर्ने भएकाले स्वस्थ जीवन र समाजका लागि योग अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।

श्रीहरि सत्संग समिति नेपालकी महिला समिति अध्यक्ष गिरिजा सारडाले समितिले गाउँगाउँमा सनातन धर्म संस्कृतिको प्रचारप्रसार गर्नुका साथै असल र नैतिकवान समाज निर्माणमा भूमिका खेल्दै आएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझीले धर्म, संस्कृति र योगलाई एकसाथ जोडेर अघि बढाउँदा सभ्य र नैतिक समाज निर्माणमा सघाउ पुग्ने धारणा राख्नुभयो । सो अवसरमा सहभागीहरूलाई योग प्रशिक्षण समेत दिइएको थियो । पतञ्जलि योग समितिकी प्रदेश सचिव शोभा कोइरालाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमका सहभागिलाई फलफुल सहितका अन्य विरुवा समेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष ओमप्रकाश अग्रवालले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिखमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको हो ।

यो प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको महासभामा राख्नुु भएको थियो, जुन सन् २०१४ को डिसेम्बर ११ मा १७७ देशको समर्थनमा पारित भएको थियो । नेपालले पनि सो प्रस्तावलाई तत्कालीन समयमा नै समर्थन गर्दै योग दिवस मनाउने निर्णय गरेको थियो ।

त्यसयता नेपालमा सरकारी तथा गैरसरकारी निकायहरूको पहलमा योग सम्बन्धी विविध कार्यक्रम हुँदै आएका छन् ।

सम्बन्धित खबरहरु