कटहरी गाउँपालिकाले दोस्रो गाउँसभा र सातौं अधिवेशनको अवसरमा कर्मचारी तथा शिक्षकहरूलाई पुरस्कृत गरेको छ।
गाउँपालिकाले बिहीबार जीवन विकास समाजको सभाहलमा आयोजना गरेको कार्यक्रममा ६ जना उत्कृष्ट कर्मचारी र ६ जना शिक्षकलाई नगदसहित पुरस्कृत गरेको हो। साथै, पूर्वकर्मचारीहरूलाई पनि सम्मान गरिएको छ।
गाउँसभा अवसरमा शिक्षा शाखा प्रमुख द्रोणप्रसाद पोखरेल, आन्तरिक लेखा परीक्षक कृष्णप्रसाद आचार्य, राजस्व शाखाका कर्मचारी गीता गुरागाईं, असिस्टेन्ट सब-इन्जिनियर प्रकाश पाण्डेय, वडा नं. १ का वडा सचिव पुष्पबहादुर निरौला र गाउँपालिकाका कार्यालय सहयोगी बिरबल कामतलाई उत्कृष्ट कर्मचारीका रूपमा जनही नगद ११ हजार रुपैयाँ र प्रशंसापत्रसहित पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै, शिक्षाको गुणस्तर वृद्धिमा योगदान पु¥याएको भन्दै कटहरी–४ स्थित आधारभूत विद्यालय खयरबनाका शिक्षक शिला शर्मा दाहाल, जाबेद आलम र निरज साहलाई नगदसहित सम्मान गरिएको छ।
यस्तै, कटहरी–१ स्थित महेशपुर आधारभूत विद्यालयकी शिक्षिका शान्ता थापा, शिला थन्दार माझी र लक्ष्मी कुमारी माझीलाई पनि पुरस्कृत गरिएको हो।
उनीहरुमध्ये शिला शर्मा दाहाललाई नगद ७ हजार रुपैयाँ र अन्य पाँचजनालाई जनही ३ हजार ५ सय रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको हो।
कार्यक्रममा पूर्वकर्मचारी रिसभदेव अर्याल, खेम सुवेदी, रिता खनाल र नन्दन भट्टराईलाई पनि सम्मान गरिएको थियो।
गाउँपालिका प्रमुख देवराज चौधरी, उपप्रमुख सीतादेवी राजवंशी र प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले छनोटमा परेका सबै शिक्षक तथा कर्मचारीलाई पुरस्कृत तथा सम्मानित गर्नुभएको थियो।