विराटनगर १६ जेठ । फुकेर विष फाल्ने दुर्लभ सर्प ‘मोनोकल्ड कोब्रा’ फेरी विराटनगरमा देखापरेको छ ।
यसअघिको सर्प भेटिएकै स्थान नजिकै अर्को सर्प समेत भेटिएको हो । मोनोकल्ड कोब्राहरु बिष फाल्ने प्रकृतिको नहुनेभएपनि यसअघि भेटिएको सर्पले बिष फालेकाले सर्वसाधारणमा त्राश सृजना भएको छ । विष फाल्ने प्रजातिको सर्प स्पिटिङ कोब्राजस्तो व्यवहारगर्ने यो सर्प विराटनगर–४ स्थित धर्मदेव मण्डलको घरको करेसाबारीमा जेठ १५ गते राति फेला परेको हो ।
मण्डलको घर नेपाल आयल निगम कार्यालयको पश्चिमी पर्खालसँगै टाँसिएको छ, र नोबेल अस्पताल परिसरबाट करिब ८ सय मिटर टाढा पर्छ– जहाँ यसअघि जेठ १० गते पहिलोपटक यही प्रजातिको सर्प देखिएको थियो । मण्डलको करेसाबारीमा कालो सर्प देखिएपछि स्थानीयले महानगरका सर्प उद्धारक शम्भू घिमिरेलाई फोन गरेका थिए । लगत्तै पगेका घिमिरेले सर्प समातेर डिभिजन वन कार्यालयमा लगेर बुझाएका थिए । यसअघि भेटिएको सर्पलाईपनि घिमिरेले नै उद्धार गरेका थिए ।
अघिल्लो पटक समातिएको सर्पले घिमिरेको अनुहारमा बिषको फोहोरा फाल्दा उनि घाईते भएका थिए । १५ गतेराति मण्डलको घरबाट समातेको सर्प र अघिल्लोपटक समातिएको सर्प एकै आकृतिप्रकृतिको रहेको घिमिरेले जानकारी दिए । दुवै पटक भेटिएको सर्प मोनोकल्ड कोब्रा प्रजातिको रहेको खुलेको छ । सामान्यतः मोनोकल्ड कोब्राले विष फाल्दैन तर जेठ १० मा भेटिएको सर्पले विष फालेको घटना अपवाद सरह रहेको विज्ञहरू बताउँछन् ।
पछिल्लो पटक भेटिएको सर्पले विष फालेको पुष्टि भइनसके पनि यसअघि भेटिएको सर्पका आकृतिसंग मेल खाने भएकाले यो सर्पले पनि विष फाल्नसक्ने सम्भावना छ । करेसाबारीमा बिष फ्याल्ने कालो नाग भेटिएपछि आफुहरु त्रशित रहेको स्थानीयले प्रतिक्रिया दिएका छन । निक्खर कालो रंगको शरीरमा छिकेमिर्के सेतो बुट्टा देखिने यो सर्पको आकृति बिष फाल्ने स्पिटिङ कोब्रासँग मेल खाँदैन ।
मोनोकल्ड कोब्रामा एउटा ‘चक्र’–आकारको चिन्ह हुने गर्छ । डिभिजन बन कार्यालय मोरंगका प्रमुख उत्सव थापाले मोनोकोल्ड कोब्रा अत्यधिक रिसाएको बेला बिष फाल्ने सक्ने बताए । यद्यपि यो प्रजातिको सर्प बिष फ्याल्ने प्रजातिमा नपर्ने उनको भनाई छ । मलेशिया र अफ्रिकामा स्पिटिङ कोब्रा पाईने गरेको उनले जानकारी दिए ।
मोनोकल्ड कोब्राले सामान्यतः फन निकालेर शत्रुलाई डरत्राश देखाउने मात्र गर्छ, तर विष फाल्ने स्वभाव भने हुँदैन । विराटनगरमा देखिएको सर्पले विष फालेको व्यवहारले यस प्रजातिमा नयाँ विशेषता बिकसित भएको हुनसक्ने आकलन गरिएको छ । यो सर्पलाई सिधै जंगलमा लगेर छाड्नेभन्दापनि वैज्ञानिक परीक्षण, विष ग्रन्थी अध्ययन, र व्यवहार सम्बन्धी गहन अनुसन्धान हुनु आवश्यक छ ।
विराटनगरजस्तो शहरी क्षेत्रमा यसरी विष फाल्ने क्षमता भएको सर्प लगातार देखिनु आफैंमा चासो र त्राशको विषय समेत बनेको छ ।
Post Views: 12