जेठ १३ । कटहरी गाउँपालिका–१ मा रहेको महादेव थन्दार ग्रामथान जाने बाटोको कालोपत्रे कार्य सुरु भएको छ।
गाउँपालिकाको बजेटबाट सुरु भएको उक्त सडक कालोपत्रे कार्यको उद्घाटन गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले पूजापाठ गरी गर्नुभएको हो।
जमटोकीको कृषि बजार पूर्वतर्फ अवस्थित उक्त बाटोको ५ सय ९० मिटर लम्बाइको सडकखण्ड कालोपत्रे हुन लागेको हो। यस सडकमा ५ मिटर चौडाइ तथा ४० एमएम मोटाइको अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरी स्तरोन्नतिको कार्य भइरहेको छ।
ग्राम देवस्थलतर्फ जाने उक्त बाटो निकै पुरानो भए पनि कालोपत्रे नहुँदा पूजापाठका लागि थानतर्फ जान सर्वसाधारणलाई समस्या हुँदै आएको थियो। साथै, छोटो बाटोबाट पालिकातर्फ जान चाहने किसान र स्थानीयवासीहरूलाई पनि असुविधा भएको थियो।
गाउँपालिकाका अन्य वडाका सडकहरूको पनि स्तरोन्नति तथा कालोपत्रे कार्य तीव्र गतिमा भइरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो। उहाँले चालु आर्थिक वर्षमा पूर्वाधारतर्फको ५५ प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै आगामी असार मसान्तसम्म ८० प्रतिशत कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
उक्त सडक कालोपत्रे गर्ने ठेक्का बुढीगंगा–३ स्थित अञ्जना निर्माण सेवाले लिएको हो। गाउँपालिकाका अनुसार, सडकको लागत अनुमान (स्टिमेट) ७४ लाख ९१ हजार रुपैयाँ रहेकोमा निर्माण कम्पनीले ५२ लाख १६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको हो।