बेलबारी, ३० बैशाख।
काठसहितका वन पैदावारको व्यवसाय गर्दै आएका व्यवसायीहरूले चोरी तस्करीसहित अवैधरूपमा भइरहेको काठ कारोबार नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ, कोशी प्रदेशअन्तर्गतका व्यवसायीहरूले यस्तो माग गर्दै नगरपालिका महासंघलाई औपचारिक ज्ञापनपत्र बुझाएका हुन्।

व्यवसायीहरूले बजारमा हुने मागको ५० प्रतिशतभन्दा बढी काठ अवैधरूपमा आपूर्ति भइरहेको दाबी गरेका छन्। काठको अवैध आपूर्ति तथा तस्करी नियन्त्रण गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुनसक्ने अपेक्षासहित व्यवसायीहरूले स्थानीय सरकारलाई विभिन्न सुझावसहित ज्ञापनपत्र बुझाउने अभियान सुरू गरेका छन्।

अभियानको पहिलो दिन बेलबारी नगरपालिकाका नगर प्रमुख तथा नगरपालिका महासंघका अध्यक्ष दिल प्रसाद राईलाई महासंघका पदाधिकारीहरूले औपचारिक ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउने कार्यक्रममा झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाका महासंघ पदाधिकारीहरू सहभागी थिए।

ज्ञापनपत्रमार्फत नगरपालिका महासंघलाई अनुरोध गर्दै स्थानीय तहहरूलाई वन पैदावारको मूल्य निर्धारणमा एकरूपता कायम गर्न सुझाव दिइएको छ। हाल स्थानीय निकायहरूले छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने प्रचलनले राजस्वमा असमानता देखिएको भन्दै त्यसलाई सुधार्न माग गरिएको छ।

व्यवसायीहरूको भनाइमा उपभोक्तालाई काठ आपूर्तिसम्बन्धी अपारदर्शी नीतिका कारण चोरी तस्करीजस्ता गतिविधिहरू बढिरहेका छन्। अभियानअन्तर्गत कोशी प्रदेशका सबै स्थानीय तहहरूलाई माग र सुझावसहितको ज्ञापनपत्र बुझाउने महासंघ कोशी प्रदेश अध्यक्ष निर्मल खतिवडाले जानकारी दिनुभयो।

अवैधरूपमा हुने काठ आपूर्तिका कारण राज्य र व्यवसायी दुवै मारमा परेको उल्लेख गर्दै व्यवसायीहरूले सम्बद्ध निकायहरूलाई तत्काल पहल गर्न आग्रह गरेका छन्। यस्तै, झन्झटिलो कानुनी प्रक्रिया, कर्मचारीको ढिलासुस्ती, अस्थिर राजनीतिक अवस्थालगायत कारणले वनमा उत्पादित काठ सडेर नष्ट भइरहेको र विदेशी काठको आयात बढिरहेको अवस्थामा राज्य र व्यवसायी दुवैले दोहोरो घाटा बेहोरिरहनु परेको व्यवसायीहरूको भनाइ छ।

चोरी तस्करी नियन्त्रणमा स्थानीय तहहरूले प्रभावकारी भूमिका खेल्न सक्ने भन्दै व्यवसायीहरूले घर निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्दा घरमा प्रयोग गरिएको काठको बिल बिजक अनिवार्य रूपमा माग गर्नुपर्ने सुझाव दिएका छन्।

यसो गर्दा धेरै हदसम्म काठको चोरी तस्करी नियन्त्रण गर्न सकिने व्यवसायीहरूको दाबी छ।

सम्बन्धित खबरहरु