विराटनगर २८ बैशाख । २५६९ औं बुद्ध जयन्तीको पूर्वसन्ध्यामा विराटनगरको जनआन्दोलन चोकमा दीप प्रज्वलन गरिएको छ।

बौद्धमार्गी आबद्ध संघसंस्थाहरूको संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरिएको हो। कार्यक्रम आयोजक संस्थाहरूमा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, विराटनगर महानगर समिति, नेपाल मगर संघ, थारु कल्याणकारिणी सभा, नेपाल शेर्पा संघको महानगर समिति तथा बौद्ध धर्मावलम्बीहरूको संयुक्त सहभागिता रहेको थियो।

बुद्ध जयन्तीको अवसरमा दुईदिने विविध कार्यक्रमहरू आयोजना गरिएको तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, विराटनगर महानगर समितिका अध्यक्ष कविमान गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार दुईदिने कार्यक्रमअन्तर्गत दीप प्रज्वलनका साथै वैशाख २९ गते बिहान ७ बजे जनआन्दोलन चोकबाट नगरव्यापी झाँकी तथा बुद्ध जयन्ती र्‍याली निकालिनेछ।

यस्तै, र्‍यालीपश्चात हाटखोला विश्रामघाटस्थित छ्योतेन परिसरमा बिहान साढे ८ बजे पूजा–अर्चना तथा प्रसाद वितरण र सोही ठाउँमा साढे ९ बजेपछि प्रवचनसहितको औपचारिक कार्यक्रम गरिने बताउनुभयो।

भगवान बुद्धको सन्देश जन–जनसम्म पु¥याउन कार्यक्रम सहायक हुने तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, विराटनगर महानगर समितिका उपाध्यक्ष श्यामकुमार गुरुङले बताउनुभयो।

भोली वैशाख २९ गते भगवान बुद्धको जन्मजयन्ती मनाइँदैछ। भगवान गौतम बुद्धले २५ सय वर्षअघि नै शान्ति, अहिंसा, करुणा र समभावको सन्देश दिनुभएको थियो। उहाँले देखाउनुभएको चार आर्यसत्य र अष्टाङ्गिक मार्ग आज पनि मानव समाजका लागि मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित छन्।

बुद्ध जयन्तीको सन्दर्भमा आयोजित यस्ता कार्यक्रमहरूले उहाँको दर्शनलाई व्यवहारमा उतार्न प्रेरणा दिने आयोजकहरूले विश्वास लिएका छन्।

सम्बन्धित खबरहरु