विराटनगर, २४ बैशाख । विराटनगर–९, पाञ्चाली मोडमा स्थापना भएको बिराट रानी आँखा अस्पतालले सञ्चालनमा आएको छोटो अवधिमा नै आँखा उपचार क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ ।

आधुनिक प्रविधि र अनुभवी जनशक्तिको संयोजनमा आधारित यो अस्पतालले बिरामीहरूको मन जित्दै सेवा विस्तार गरिरहेको छ ।

२०८१ माघ १८ गतेदेखि सेवा प्रदान गर्न थालेको अस्पतालले हालसम्म ५ हजार ४ सय ३४ जनालाई बाह्य बिरामी (ओपिडी) सेवा उपलब्ध गराइसकेको छ । तीमध्ये ५ सय ९१ जनालाई निशुल्क सेवा प्रदान गरिएको अस्पतालका कार्यकारी निर्देशक कमलेशकुमार कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म अस्पतालमार्फत ८ सय ५० वटा शल्यक्रिया सम्पन्न गरिएका छन् । तीमध्ये २ सय जनाले ५० प्रतिशत छुटमा सेवा पाएका छन् भने १० जनाको पूर्णरूपमा निशुल्क शल्यक्रिया गरिएको छ ।

अस्पतालले आँखाको पर्दा जाँचका लागि जर्मन प्रविधिको ग्रिन लेजर र ओसिटि (ऑप्टिकल कोहेरेन्स टोमोग्राफी) सेवा उपलब्ध गराएको छ । बालबालिकाको अदुरदृष्टि (मायोपिया) नियन्त्रण गर्न विशेष मायोपिया क्लिनिक संचालनमा रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी आँखाको टेडोपन (स्क्विन्ट) उपचार तथा शल्यक्रिया, आँखाको प्रेशरका कारण हुने जलबिन्दु, ग्लुकोमा, आँखाको नानी प्रत्यारोपण, आँखाको सुख्खा हुने समस्या (ड्राइ आई) को उपचार, र न्यूनदृष्टिका लागि विशेष स्पेशिलिटी कन्ट्याक्ट लेन्स सेवा जस्ता सुविधा अस्पतालमा उपलब्ध रहेको जनाईएको छ ।

वरिष्ठ दृष्टि विशेषज्ञ सरबिन्द कुमार यादवका अनुसार,  अर्थोक्राइटोलोजी प्रविधिमा राति सुत्ने बेलामा लगाइने विशेष लेन्सले बिरामीलाई चस्मा बिना नै दिनको समयमा सामान्य दृष्टि प्रदान गर्न सक्ने स्कलेरल कन्ट्याक्ट लेन्स सेवा समेत उपलब्ध रहेको जानकारी दिनुभयो ।

मोतियाबिन्दुको शल्यक्रियामा अस्पतालले अष्ट्रेलियन, जर्मन तथा अमेरिकी कम्पनीद्वारा उत्पादित उच्चस्तरीय लेन्सको प्रयोग गर्दै आएको जनाएको छ ।

प्रशासन प्रमुख राम कुमार पण्डितका अनुसार, अस्पतालको सञ्चालन विगतमा आँखाको उपचार क्षेत्रमा लामो अनुभव बटुलेका ब्यवसायि र चिकित्सकहरूको समूहले गरेको हो । हाल ७० जना भन्दा बढी स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीको टोलीले नियमित सेवा दिइरहेको छ ।

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै विपन्न र जोखिममा परेका वर्गलाई प्राथमिकतामा राखेर सेवा दिने उद्देश्यले अस्पताल अघि बढिरहेको बताइएको छ ।

अस्पतालले कोशी प्रदेशमा मात्र नभई देशैभर तथा भारतबाट सेवा लिन आउने बिरामीहरूको लागि समेत भरपर्दो गन्तव्य बन्ने लक्ष्यसहित अघि बढिरहेको संचालक पक्षले जनाएको छ ।

बिराटनगर बसपार्कबाट करिब सय मिटरको दूरीमा अवस्थित यो अस्पताल बिरामी तथा सर्वसाधारणको आवागमनका दृष्टिले सहज पहुँचमा छ भने अस्पतालले ‘जेनेरल सेवा’ र ‘फास्ट ट्रयाक सेवा’ गरी दुई विधामार्फत उपचार सेवा प्रदान गर्दै आएको छ, जसले गर्दा बिरामीले लामो लाइन बस्नु पर्ने झन्झटबाट समेत मुक्ति पाएका छन् ।

सम्बन्धित खबरहरु