विराटनगर १६ बैशाख । कोशी प्रदेशकै सुप्रसिद्ध र ऐतिहासिक विराटनगरस्थित श्री काली शक्तिपीठको धार्मिक आरती गीत रेकर्ड गरिएको छ ।

शक्तिपीठको आरती गीतमा विराटनगरका बरिष्ठ गायक रामा मण्डलले स्वर दिनुभएको छ भने मण्डलसंगै ज्योति विश्वकर्मा,सानुमाया यादव र सन्तोष मेहता लगायतले स्वर दिनुभएको छ । विराटनगरकै बिट्ज रेकर्डिङ स्टूडियोमा सो गीतको स्वरांकन गरिएको छ ।

काली शक्तिपीठ ब्यवस्थापन समितिका अध्यक्ष डा.मीनाक्षी नेपाल र बरिष्ठ साहित्यकार कविराज न्यौपानेको शब्द रचना रहेको गीतमा संगितकार शैलेन्द्र विश्वकर्माले संगित भर्नु भएको छ । गीतको रेकर्डिस्ट साजन साह हुनुहुन्छ भने मास्टरिङ सुरज श्रेष्ठले गर्नुभएको छ ।

काली शक्तिपीठ विराटनगर मात्र नभई कोशी प्रदेशकै ऐतिहासिक धार्मिक धरोहर रहेकाले शक्तिपीठसंग जोडिएको बिशेषताका साथै भौगोलिक, प्राकृतिक अवस्थिति समेटेर आरती गीतको शब्द रचना तथा निर्माण गरिएको शक्तिपीठका अध्यक्ष डा.नेपालले बताउनुभयो । उहाँले मन्दिरले आयोजना गर्ने दशैं लगायतका विविध चाडपर्व बिशेष कार्यक्रमहरुमा महत्वका साथ गीत बजाईने बताउनुभयो ।

गितको निर्माण संयोजन पत्रकार नवीन कर्णले गर्नुभएको छ । कोशी तथा मधेश प्रदेशका चर्चित प्रतिभा तथा प्रविधिलाई एकत्रितगरि स्तरीय र कर्णप्रिय धार्मिक गीत निर्माण गरिएकाले यो गीतले आम श्रोताको मन जित्ने कर्णले विश्वास ब्यक्त गर्नुभयो । आउदो केहि दिन भित्रै शक्तिपीठ परिसरमा एउटा औपचारिक कार्यक्रमगरि गीत विमोचन गरिने निर्माण पक्षले जनाएको छ ।

विराटनगर ७ मेनरोडमा अवस्थित श्री काली मन्दिरको स्थापना सन् १९५० को दशकतिर भएको विश्वास गरिन्छ । सुरुवाती चरणमा यो मन्दिर सानो टिनको छाना सहितको साधारण संरचनामा रहेको थियो । पछि, वि.सं. २०५३ मा स्थानीय भक्तजनहरूको सहयोगमा मन्दिरलाई ठूलो र भव्य स्वरूपमा पुनर्निर्माण गरिएको हो ।

यसको पुनर्निर्माणमा चून र इँटाको प्रयोग गरिएको थियो । हाल मन्दिरलाई तीनतले छानासहितको आकर्षक संरचनामा स्तरोन्नती गरिएको छ भने पछिल्लो समय विक्रम सम्बत २०८१ सालमा मन्दिरलाई काली शक्तिपीठको रुपमा नामाकरण गरिएको छ ।

विशेष गरी दशैंको बेला आसपासका पालिकाका साथै भारतीय सिमाबर्ती क्षेत्रका ठूलो संख्याका श्रद्धालुहरू यस शक्तिपीठमा पूजाआजा तथा दर्शनकालागि आउने गर्दछन् ।

सम्बन्धित खबरहरु