विराटनगर १३ बैशाख । जागृति महिला उत्थान समाज कटहरीले विराटनगरस्थित विराटेश्वर बृद्धाश्रमलाई खाद्यान्न प्रदान गरेको छ ।
थारु महिलाहरु आबद्ध सो संस्थाले आश्रम परिसरमा एक कार्यक्रमको आयोजनागरि बृद्धाश्रमलाई खाद्यान्नका साथै नगद समेत प्रदान गरेको छ । समाजले बृद्धाश्रमलाई चामल ७५ किलो,आलु ५० किलो,भुजा १३ किलो सहित चाउचाउ,पिठो र पानी लगायतका खाद्यान्न सामाग्रि प्रदान गरेको छ ।
आश्रम परिसरमा आयोजित कार्यक्रमकाबिच समाजका अध्यक्ष सरस्वती यादव माझीले आश्रमका संस्थापक जगत प्रसाद अज्र्यालाई ति सामाग्रि हस्तारण गर्नुभयो । सो क्रममा आश्रमलाई नगद ५१ सय समेत प्रदान गरिएको थियो । जागृति महिला उत्थान समाजले बितेको चैत २९ र ३० गते कटहरीको महेशपुरमा रामनवमी पर्वको अवसरमा आयोजना गरेको अष्टजाम कार्यक्रमबाट संकलित खाद्यान्नमा थप केहि खरीदगरि आश्रमलाई उपलब्ध गराईएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
नगद भने पदाधिकारीहरुको सहयोगमा उपलब्ध गराईएको उहाँले बताउनुभयो । सो अवसरमा बोल्नुहुँदै आश्रमका संस्थापक अज्र्यालले मनकारी दाताहरुको नगद,जिन्सी तथा खाद्यान्न सहयोगबाट आश्रम संचालित रहेको बताउनुभयो । हाल आश्रममा परिवारले परित्याग गरेका ६८ जना बेसहारा ज्येष्ठ नागरीकहरु आश्रित रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष स्वस्तिका माझी,सहसचिव सरस्वती राजवंशी,सल्लाहकारद्वय श्रीमन्त भट्टराई र सीता राजवंशी सहित सदस्यहरु सम्झना माझी,दिब्या माझी,पूजा राजवंशी,रिना राजवंशी तथा बृन्दा चौधरी लगायतको सहभागिता थियो ।