विराटनगर, २ चैत। मिथिलाञ्चलसहित तराई–मधेशका बासिन्दा आज जुडशीतल पर्व मनाउँदै छन्।

मिथिला नववर्षको रूपमा वैशाख २ गते जुडशीतल मनाउने गरिन्छ। मिथिलाञ्चलका बासिन्दा आफ्नै मौलिक र परम्परागत शैलीमा नयाँ वर्षलाई स्वागत गर्छन्। जुडशीतल शुद्धता, परोपकार र सांस्कृतिक सम्मानको प्रतीक हो।

यस दिन मिथिलावासीहरू बिहान सबेरै उठेर घरको आँगन र मूल ढोका सफा गर्ने, पानी छ्यापेर शुद्धीकरण गर्ने लगायतका सरसफाइका काम गर्छन्। जुडशीतलको महत्वपूर्ण पक्ष भनेको प्रत्येक मैथिलको घरघरमा रहने कुलदेवीको पूजा–पाठ पनि हो।

यस दिन कुलदेवीलाई दहीभात, चिनी र मिठाई लगायतका नैवेद्य अर्पण गरी विशेष पूजा–आराधना गरिन्छ। त्यस्तै, घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा बासी जल छ्यापेर आशीर्वाद दिने, सानाले आफ्ना अग्रजको पाउमा जल अर्पण गरेर आशीर्वाद थाप्ने परम्परा छ।

जुडशीतलको दिन घरका प्रत्येक कोठाको प्रवेशद्वारको दुई किनारामा बासी भात, दही, बरी र सजीवनको तरकारी नैवेद्यका रूपमा चढाउने गरिन्छ।

खानपानका परिकारमा दाल पिसेर दहीको झोलमा बनाइने बरी र सजीवनको तरकारी अनिवार्य मानिन्छ। विशेषगरी ठन्डा परिकारहरू जुडशीतलको दिन भोजनमा प्रयोग गरिन्छ। जुडशीतलमा पूजा, प्रसाद तथा खानाका लागि पनि बासी भातकै प्रयोग गरिन्छ।

जुडशीतल मनाउन अघिल्लो रात नै भात, बरी तथा विभिन्न प्रकारका तरकारीको तरुवा पकाएर राख्ने गरिन्छ। यस दिन वर्षभरि खाना पकाउन प्रयोग गरिने चुलोलाई विश्राम दिई विधिपूर्वक पूजा गरी नैवेद्य अर्पण गरिन्छ। त्यसै दिन महिलाहरूले आँपको चिचिला अर्पण गरेर गौरी पूजा गर्छन्।

त्यसका साथै आँगन तथा करेसाबारीमा रहेका प्रत्येक वनस्पति तथा बोटबिरुवामा बासी पानीले सिँचाइ गरिन्छ। परिवारका सदस्य र वनस्पतिमा समेत वर्षभरि शीतलता र आरोग्य कायम रहोस् भन्ने कामनासहित जुडशीतल पर्व मनाइने गरिन्छ।

सम्बन्धित खबरहरु