कटहरी १ बैशाख ।
मोरङका थारु र राजबंशी समुदायले आज हर्षोल्लासका साथ जुड शीतल पर्व मनाइरहेका छन्।
नववर्ष अर्थात् बैशाख १ गतेका दिन मोरङका थारु समुदायले यो पर्व विशेष उत्साहका साथ मनाउँदै आएका छन्। पर्वको अवसरमा समुदायका व्यक्तिहरूले आफूभन्दा जेठा–ठूला मान्यजनहरूबाट आशीर्वाद ग्रहण गरेका छन्।
जुड़ शीतलको बिहान मान्यजनको खुट्टामा शीतल जल अर्पण गरी आशीर्वाद लिने चलन रहेको छ भने आफुभन्दा कान्छा परिवारका सदस्यहरूलाई शिरमा जल छर्केर आशीर्वाद दिने परम्परा छ। यसदिन कुलदेउता, ग्रामदेवस्थल, थान, र बोट–बिरुवाहरूमा समेत जल अर्पण गर्ने प्रचलन छ।
मिथिलाञ्चलसहित तराई–मधेशमा जुड़ शीतल पर्वलाई परिवार, प्रकृति र समाजसँग जोडिएको विशेष पर्वको रूपमा मनाउने गरिन्छ।
मोरङका आदिवासी मोरङिया थारु समुदायले यो पर्व बैशाख १ गते मनाउने परम्परा राखेका छन् भने मिथिला मधेशमा भने बैशाख २ गते ‘जुड़ शीतल’ पर्वका रूपमा मनाउने गरिन्छ।
जुड़ शीतलमा अघिल्लो रात पकाइएको भात, बडी, सजिवनको तरकारी र तरुवा लगायतका परिकारहरू भोलिपल्ट बिहान पूजा–पाठ गरी प्रसादका रूपमा ग्रहण गर्ने चलन छ।
यस दिन बिहान शिरमा शीतल जल थापेर आशीर्वाद लिँदा वर्षभरि जीवनमा शीतलता, शान्ति र समृद्धि कायम रहने विश्वास गरिएको छ।