विराटनगर, ३० चैत । हनुमान जन्मजयन्तिको अवसरमा प्राचीन हरिद्वार मानिने सुनसरीको चतराधामस्थित हनुमानजीको नेपालकै अग्लो बिग्रह (मुर्ति) स्थलमा भब्य धार्मिक उत्सव मनाईएको छ ।

बराहक्षेत्रधाम नगरपालिकाको वडा नम्बर १ चतराधामस्थित श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) परिसरमा भगवान हनुमानको नेपालकै अग्लो मूर्ति छ। रामनाम रसिक विराट संकट मोचन पञ्चमुखी नामाकरण गरिएको सो मूर्तिको मन्दिरको सतहदेखिको उचाई ७४ फिट छ। चैत्र शुक्ल पूर्णिमाको पावन अवसरमा उक्त विग्रहको विशेष पूजापाठ गर्दै हनुमान जयन्ती उत्सव मनाइएको छ।

हनुमान जयन्तीको अवसरमा नजिकै रहेको पवित्र सप्तकौशिकी नदीबाट १ सय ८ घडामा ल्याइएको जलबाट पीठ संस्थापक जगद्गुरु महायोगी सिद्धबाबाले हनुमानजीको महाअभिषेक गर्नुभयो। सो अवसरमा नववर्ष २०८२ लाई लक्षित गर्दै २०८२ वटा लड्डु सहित विभिन्न प्रकारका मिष्ठान्न तथा पकवानहरू भगवानलाई भोग लगाइएको थियो।

सोही क्रममा मध्यान्ह १२ बजे भगवान श्री हनुमानको पञ्चमुखी र एकमुखी रूपको एकैसाथ महाआरती गरिएको थियो। कार्यक्रमका बीच सिद्धबाबाले यस धर्तीमा हनुमानजीको प्राकट्यको महत्वका विषयमा प्रवचन दिनुभयो। उहाँले हनुमानजीको वानर स्वरूप धर्तीमा लीला हेतु मात्र धारण गरिएको र उहाँका पाँचै रूपहरू भक्तको कल्याण गर्ने तथा शत्रुहरूका लागि उग्र रूप भएको बताउनुभयो। उहाँले श्रीहनुमानजीलाई संकट मोचन भनिनुको कारण पनि प्रष्ट पार्नुभयो।

कार्यक्रममा राजनीतिक, सामाजिक, धार्मिक क्षेत्रका अतिथिहरू सहित देशविदेशबाट आएका भक्तजनहरूको उल्लेख्य सहभागिता थियो। हनुमान जयन्तीको अवसरमा भण्डारा प्रसाद समेत वितरण गरिएको थियो। नेपालकै अग्लो हनुमानजीको मूर्तिको २०७० सालमा प्राणप्रतिष्ठा गरिएको थियो।

सम्बन्धित खबरहरु