भगवान श्रीकृष्णको अवतार मानिने बाबा रामदेवजी महाराजको जागरण तथा विशेष पूजा अनुष्ठान हुने भएको छ।
प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेशनको आयोजनामा आउँदो चैत २५ गते विराटनगरको अतिथि सदनमा लोक देवता रामदेवजी महाराजको विशेष धार्मिक कार्यक्रम आयोजना हुने छ। अतिथि सदनको राधा मण्डपमा सो दिन भगवान रामदेवको विशेष धार्मिक कार्यक्रमका साथै सच्चियाय माताजी भजन आयोजना गरिने छ।
सो अवसरमा भारतको हैदराबादका ख्यातिप्राप्त भजन सम्राट सुशिल गोपालजी बजाजले भक्तिमय सांगितिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम पनि छ। गोल्छा अर्गनाइजेशनअन्तर्गतको महेन्द्रकुमार गोल्छा स्मृति प्रतिष्ठानको संयोजनमा सो कार्यक्रम आयोजना हुन लागेको हो। गोल्छा अर्गनाइजेशनका तत्कालीन निर्देशक स्वर्गीय महेन्द्र गोल्छाले आफ्नो जीवनकालमा विराटनगरमा रामदेवजी महाराजको जागरण तथा विशेष पूजा अनुष्ठान सुरु गर्नुभएको थियो ।
सोही कार्यक्रमलाई निरन्तरता दिन, विगतका वर्षहरू जस्तै यस वर्षपनि कार्यक्रम आयोजना गर्न लागिएको गोल्छा अर्गनाइजेशनकी संचालक राज्यलक्ष्मी गोल्छाले जानकारी दिनुभयो । धार्मिक कार्यक्रमकाबिच विशेष पूजा अर्चना र भजन कीर्तनका साथै महाप्रसादको कार्यक्रम समेत गरिने आयोजकले जानकारी दिएका छन्।
भारतको राजस्थानस्थित रामदेवड़ा गाउँमा रामदेव महाराजको प्रसिद्ध पौराणिक मन्दिर रहेको छ। सो गाउँमा चमत्कारी बालकको रूपमा उहाँको जन्म भएको भनिएको छ। उहाँको जन्मसँगै केही चमत्कारी घटनाहरू घटेका थिए, जसले उहाँलाई एक महान आत्माको रूपमा स्थापित गर्यो।
बाबा रामदेवजीको पूजा नेपाल र भारतका साथै विभिन्न मुलुकहरूमा गरिन्छ। उहाँलाई हिन्दू बाहेक अन्य धर्मका मानिसहरूले पनि पूजा गर्ने गरेका छन्। हिन्दू श्रद्धालुहरूले उहाँलाई भगवान श्रीकृष्णको अवतारको रूपमा पूजा गर्दछन्। विराटनगरको तिनपैनी सिंघिया किनारमा रहेको हनुमान मन्दिरमा समेत बाबा रामदेवको मन्दिर छ।
उक्त मन्दिर स्वर्गीय महेन्द्र गोल्छाले नै निर्माण गराउनुभएको हो, महेन्द्रकुमार गोल्छा स्मृति प्रतिष्ठानले जनाएको छ।