विराटनगरमा चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
मिल्स क्रिकेट क्लब एण्ड एकेडमीको आयोजनामा विराटनगर–१६ स्थित जुट मिलको खेल मैदानमा चैत २३ देखी ३० गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजागरि सो बिषयमा जानकारी गराएको छ । प्रतियोगितामा नेपालको ६ र भारतका ६ वटागरि जम्मा १२ वटा टिमको सहभागिता रहने जनाईएको छ ।
प्रतियोगितामा भारतबाट सन्नी क्रिकेट क्लब कटिहार,दिल्ली यूथ क्लब,बिहार एलेभन,हाईपर परफोर्मेन्स क्रिकेट एकेडमी पटना,प्रशान्त क्रिकेट क्लब जोगबनी र डिजायर क्रिकेट क्लब पुर्णियाको सहभागिता रहने छ । यस्तै नेपालबाट विराटनगरको ४ वटासहित झापा र सिराहाका थप दुई क्रिकेट टिमले सहभागिता जनाउने छन ।
विराटनगरबाट आयोजक मिल्स क्रिकेट क्लब,होराईजन क्रिकेट क्लब,वाईआरसिसि र सिद्धार्थ स्पोर्टिङ क्लबले सहभागिता जनाउने खेल तालिका छ । त्यसैगरि झापा जिल्ला क्रिकेट क्लब र सिरहा जिल्ला क्रिकेट क्लबले समेत प्रतियोगितामा सहभागिता जनाउने छन । क्रिकेट खेलको विकास र प्रर्बधनका निम्ति बार्षिकरुपमा प्रतियोगिता आयोजना गर्दै आएको मिल्स क्रिकेट क्लब एण्ड एकेडमीका अध्यक्ष मुरली चौधरीले बताउनुभयो ।
उहाँले भारतबाट आउन लागेको टिम भारतको प्रतिष्ठित रणजी लगायतका ट्रफी खेल्ने स्तरीय टिमहरु रहेको जानकारी दिनुभयो । आयोजक समितिले गतबर्ष भएको तेश्रो संस्करणको प्रतियोगिता भन्दा यसबर्षको पुरस्कार राशि ५० हजारले बृद्धि गरेको छ । यसबर्षको बिजेतालाई २ लाख १ हजार नगद पुरस्कार सहित आर्कषक ट्रफी प्रदान गरिने छ भने उपबिजेतालाई १ लाख १ हजार नगदसहित ट्रफी प्रदान गरिने छ ।
गतबर्ष उपबिजेतालाई ७५ हजार नगद सहित पुरस्कृत गरिएको थियो । यस्तै प्रत्येक खेलमा ‘प्लेयर अफ दी म्याच’ खेलाडीलाई नगद ३ हजार १ सय,‘म्यान अफ दी टुर्नामेन्ट’ घोषणा हुने खेलाडीलाई २५ हजार तथा ‘बेस्ट बलर’ तथा ‘बेस्ट ब्याटर’ लाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक समितिकी सचिव शान्ता जोशीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनकैबिच बिजेतालाई प्रदान गरिने ट्रफी अनवारण गरिएको छ । विराटनगर १५ का वडाध्यक्ष प्रकाश साह,विराटनगर १६ का वडाध्यक्ष उद्धव भुजेल र आयोजक संस्थाका अध्यक्ष चौधरीले ट्रफी अनवारण गर्नुभयो । तेश्रो संस्करणको उपाधि विराटनगरको वाईआरसिसि क्लबले जितेको थियो । सो क्लबले विराटनगरकै होराईजन क्लबलाई पराजितगर्दै उपाधि चुमेको थियो ।
प्रतियोगितामा प्रदेश खेलकुद विकास बोर्डले संयोजक रहेको छ भने मोरङ जिल्ला क्रिकेट संघ,विराटनगर महानगरपालिका र विराटनगर १५ तथा १६ नम्बर वडाले सहयोगिको भुमिका निर्वाह गरिरहेको छ ।