विराटनगरमा तीन दशकपछि आयोजना गरिएको रासलीला भव्यरूपमा सम्पन्न भएको छ।

विराटनगरको सत्यानारायण मन्दिरमा तीन दशक अघिसम्म रासलीला आयोजना गरिन्थ्यो, तर त्यसपछिको समयमा यो कार्यक्रम रोकिएको थियो। पछिल्लो समय सनातन धर्मको रक्षार्थ सक्रिय भएको श्रीहरि सत्संग समितिले रोकिएको रासलीलालाई पुनः सुरु गरेको छ।

समितिले भारतको बृन्दावनका श्री ब्रज लोक कला संस्थानका कलाकारहरूलाई आमन्त्रित गरी रासलीला आयोजना गरेको हो। विराटनगरको अतिथि सदनमा चैत ५ देखि १० गतेसम्म रासलीला आयोजना गरिएको थियो। कार्यक्रमका बीचमा संस्थानका २१ जना कलाकारहरूले भगवान कृष्णको जीवनलिलासँग सम्बन्धित पौराणिक गिती नाटकसहितको रासलीला प्रस्तुत गरेका थिए ।

भारतको हैदरावादका रामानुज चिन्न जिअर स्वामीको सानिध्यमा आयोजना गरिएको रासलीला कार्यक्रमको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ्गले गर्नुभएको थियो। यस्तै, दैनिक कार्यक्रममा कोशी प्रदेश सभा सदस्य भीम पराजुली, प्रदेश सभा सदस्य जयप्रकाश चौधरी, नेपाली काँग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, नेपाली काँग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्तीनाथ माझी लगायत विशिष्ट व्यक्तिहरूले सहभागिता जनाएका थिए।

रासलीला भव्यरूपमा सम्पन्न गर्न आयोजक श्रीहरि सत्संग समितिले विराटनगरका समाजसेवी र धर्मानुरागी महेश स्वर्णकारलाई कार्यक्रम संयोजकको रूपमा चयन गरेको थियो। स्वर्णकारको संयोजकत्वमा गठन गरिएको ३५ सदस्यीय कार्यसम्पादन समितिको अथक प्रयासबाट तीन दशकपछि पुनः विराटनगरमा सफलतापूर्वक रासलीला सम्पन्न भएको हो ।

सो विषयमा जानकारी दिंदै संयोजक स्वर्णकारले महानगरबासीसहित विभिन्न पालिकाका धर्मानुरागी र समाजसेवीहरूको सहयोगले विराटनगरमा ३० वर्षपछि सफलतापूर्वक रासलीला सम्पन्न गर्न सफल भएको बताउनुभयो।

सनातन धर्म संस्कृतिको संरक्षणको उद्देश्यसहित रासलीला आयोजना गरिएको श्रीहरि सत्संग समितिका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरलले बताउनुभयो। समितिले ग्रामीण क्षेत्रहरूमा निरन्तर भजनकिर्तन र प्रवचन लगायतका धार्मिक कार्यक्रमहरू पनि आयोजना गर्दै आएको उहाँले बताउनुभयो।

कार्यक्रम समापनको अवसरमा आयोजक समितिले एक दर्जन बढी पत्रकार र सञ्चारकर्मीलाई सम्मान गरेको छ। रासलीला आयोजनामा विभिन्न प्रकारले सहयोग गर्ने पत्रकार, सञ्चारकर्मी र सहयोगीहरूलाई सम्मान गरिएको श्रीहरि सत्संग समितिका कोशी प्रदेश अध्यक्ष विद्यानन्द माझीले जानकारी दिनुभयो।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव सहित विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूको सहभागिता थियो। रासलीलाको अवलोकन मोरङ, सुनसरीसहित भारतीय सीमावर्ती क्षेत्रबाट आएका धर्मानुरागीहरूले पनि गरेका थिए।

सम्बन्धित खबरहरु