चैत ६ । भगवान श्रीराधाकृष्णको चरित्रमा आधारित पाँचदिने रासलीला शुरु भएको छ ।
विराटनगरको अतिथि सदनमा मंगलबार साँझ शुरु भएको रासलिलाको कोशीका प्रदेश प्रमुख परशुराम खापुङ्ग र हैदराबादका त्रिदण्डी चिन्न जियर स्वामीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै प्रदेश प्रमुख खापुङ्गले धर्म संस्कृति नै ब्यक्ती र समुदायको पहिचान रहेको बताउनुभयो ।
उहाँले समाज भित्रका सबै संस्कृति समानरुपमा फस्टाए मात्र मुलुक सम्पुर्णरुपमा विकसित हुनसक्ने धारणा राख्नुभयो । स्वामी चिन्न जियरले समाजभित्र बस्ने प्रत्येक समुदाय तथा ब्यक्तीका आ–आफ्ना प्रचलन तथा संस्कृति रहेको बताउनुुहुँदै त्यस्ता प्रचलन र संस्कृतिहरुलाई अंगिकार गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले आफ्नो धर्मसंस्कृतिलाई संरक्षणगर्दै अघि बढ्नुका साथै अरुको धर्म संस्कृतिलाई सम्मान दिनुपर्ने बताउनुभयो । त्यसोगर्दा धर्मपरिर्वतन जस्ता गतिविधि न्यूनिकरण हुँदै जाने धारणा राख्नुभयो । रासलीला सयोजक महेश कुमार स्वर्णकारले पाँचदिने रासलिला कार्यक्रमले सनातन धर्मसंस्कृतिको संरक्षणका साथै समाजमा सदाचारको विकासमा सघाउ पुग्ने बताउनुभयो ।

सो अवसरमा बृन्दाबनबाट आएका कलाकारहरुले भगवान राधाकृष्ण र गोपिनीहरुको भूमिकामा नृत्यनाटिका सहित रासलीला प्रस्तुत गरेका थिए । चैत ५ बाट शुरु भएको रासलीला चैत ९ सम्म चल्ने आयोजक श्रीहरि सत्संग समिति नेपालका कोशी सम्भाग अध्यक्ष विद्यानन्द माझीले जानकारी दिनुभयो । प्रत्येकदिन साँझ ६ बजेदेखी ९ बजेसम्म रासलीला आयोजना हुने आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य भीम पराजुली,नेपाली काँग्रेसका कार्यवाहक अध्यक्ष भक्तीनाथ माझी,आयोजक संस्थाका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरल लगायतको सहभागिता थियो ।





