फागुन २८ कटहरी । आसन्न होली पर्वलाई सांस्कृतिक मर्यादामा बसेर मनाउनुपर्ने कटहरीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

कटहरी–१ स्थित जागृती महिला उत्थान समाजले होली पर्वको अवसरमा आयोजना गरेको होली मिलन समारोहमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । उनिहरुले पछिल्लो समय होलीमा विकृति समेत भित्रिदै गएकोमा चिन्ता समेत ब्यक्त गरेका छन ।

कटहरीको महेशपुरचोकमा आयोजना गरिएको कार्यक्रममा बोल्नुहुँदै थारु कल्याणकारिणी सभा विराटनगरका सभापति विद्यानन्द माझीले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने प्रबृति समेत देखिने गरेकाले त्यस्तो प्रबृतिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

आयोजक जागृती महिला उत्थान समाजका अध्यक्ष सरस्वती यादव माझीले होलीको अवसरमा अत्यधिक मादक पदार्थ सेवन गर्ने प्रबृतिका कारण झैंझगडा तथा महिला हिंसा समेत हुने गरेको बताउँदै सांस्कृतिक मर्यादा अनुसार होली मनाउन आग्रह गर्नुभयो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले होली हर्ष र उल्लासको पर्व रहेकाले यसको सांस्कृतिक महत्वलाई जोगाई राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले होलीले सद्भाव,आपसी एकता तथा समानताको समेत सन्देश दिने भएकाले यस्को सकारात्मक पक्षलाई अंगिकार गर्नुपर्ने धारणा राख्नुभयो । कटहरी १ का वडाध्यक्ष हरिनारायण माझीले होली सहितका सांस्कृतिक पर्वहरुलाई संरक्षण र संवर्धन गर्न वडा कार्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेको बताउनुभयो ।

सो अवसरमा सहभागि अतिथि तथा संस्थाका पदाधिकारीहरुले एकआपसमा अबिर साटासाटगर्दै होलीको शुभकामना समेत आदान प्रदान गरेका थिए । समाजले संस्कृति संरक्षणका साथै महिला हिंसा न्यूनिकरण तथा महिलाहरुको स्वास्थ्य क्षेत्रमा समेत कामगर्दै आएको समाजकी उपाध्यक्ष स्वस्तिका खाँ थारुले बताउनुभयो ।

कार्यक्रममा कटहरीकी उपाध्यक्ष सीता देवी राजवंशी,समाजसेवी बसन्त राजवंशी सहित स्थानिय राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

सम्बन्धित खबरहरु