फागुन २० सुनबर्षी । सेना दिवसको अवसरमा सुनबर्षी नगरपालिकामा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ४ सय ५० बढी सर्वसाधारणले निःशुल्क स्वास्थ्य सेवा लिएका छन ।

सेना दिवस २०८१ को सन्र्दभ पारेर कटहरीको थलाहास्थित श्री भैरवगणले सुनबर्षी २ स्थित अमरदह स्वास्थ्य चौकीमा सोमबार आयोजना गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५७ जना सर्वसाधारणले स्वास्थय उपचार सेवा लिएका हुन ।

विराट नर्सिङ होम,रामलाल गोल्छा आँखा अस्पताल फाउण्डेशन,सुनबर्षी नगरपालिका सहित विभिन्न संघसंस्थाहरु संगको सहकार्यमा शिविर आयोजना गरिएको हो । शिविरमा विशेषज्ञ चिकित्सकहरुले सर्वसाधारणको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा स्त्री रोग,जनरल फिजिशियन,बालरोग,छालारोग र आँखा रोग संग सम्बन्धित बिशेषज्ञ चिकित्सकहरुले स्वास्थय सेवा प्रदान गरेका थिए ।

शिविरमा आएका आँखाका विरामीहरु मध्ये १८ जना विरामीहरुमा मोतिया बिन्दूको जटिल समस्या देखिएपछि गोल्छा आँखा अस्पतालसंगको सहकार्यमा निःशुल्क शल्यक्रिया गर्ने ब्यवस्था मिलाईएको श्री भैरवगणले जनाएको छ । यस्तै आँखाका समस्या भएका १६ जना विरामीलाई चश्मा समेत उपलब्ध गराईएको जनाईएको छ ।

शिविरमा आएका विरामीलाई आवश्यकता अनुसारको निःशुल्क औषधि वितरण गर्नुका साथै अभिभावक संग आएका बालबालिकालाई शैक्षिक सामाग्रि समेत वितरण गरिएको आयोजक गणले जनाएको छ ।

कार्यक्रममा श्री भैरवगणका प्रमुख सेनानी अशिम श्रेष्ठ र सेनानी श्रवण मल्लिक लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु