माघ २८ । सुनसरीको बर्जु गाउँपालिकामा मुस्लिम छात्राहरुकालागि विद्यालय भवन निर्माण गरिएको छ ।
बर्जु गाउँपालिका ५ मुस्लिम टोलमा रहेको मदरसा नेदाउल ईश्लाम परिसरमा छात्राहरुकालागि छुट्टै विद्यालय भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको बर्जु गाउँपालिकाका अध्यक्ष जीबछ कुमार रायले उद्घाटन गर्नुभयो । कुवैतको एक संस्थाले नेपाल डेभलप्मेन्ट सोसाईटी मार्फत उपलब्ध गराएको ७० लाख आर्थिक सहयोगबाट सुविधा सम्पन्न ६ कोठे विद्यालय भवन निर्माण गरिएको हो ।
दाता पक्षले विद्यालय भवनमा कोठाका संचालनका निम्ति आवश्यक फर्निचर,दराज र ह्वाईटबोर्ड लगायतका सम्पुर्ण सामाग्रि समेत खरीद गरिदिएको छ । २०५३ सालमा स्थापना भएको सो मदरसा विद्यालयमा हाल कक्षा ७ सम्म अध्यापन हुन्छ । भवन निर्माण गरिएको स्थान नजिकै साबिकको भवनमा विद्यालय संचालनमा छ ।
उक्त विद्यालयलाई प्लस टू सम्म स्तरोन्नति गर्ने प्रयास भईरहेको सन्दर्भमा आवश्यक थप संरचना निर्माण गरिएको मदरसा ब्यवस्थापन समितिका सचिव मो.ईशराफिल अंसारीले जानकारी दिनुभयो । उहाँले समुदायको नियम अनुसार छात्राहरुलाई छुट्टै अध्ययनको ब्यवस्था गर्नुपर्ने भएकाले थप कक्षा कोठाहरु निर्माण गरिएको बताउनुभयो ।
सो विद्यालयमा हाल कक्षा ७ सम्म १ सय ६० जना विद्यार्थी अध्ययनरत रहेकोमा ति मध्ये ८० जना छात्रा छन । भवन उद्घाटन कार्यक्रममा बर्जु गाउँपालिकाका उपाध्यक्ष नितुकुमारी चौधरी विद्यालयका प्रधानाध्यापक आरिफ हुसैन,ब्यवस्थापन समिति अध्यक्ष सज्जाद अंसारी र नेपाल डेभलप्मेन्ट सोसाईटीका अध्यक्ष अब्दुल सत्तार अंसारी सहित स्थानीयको सहभागिता थियो ।
सो ठाउँमा मदरसा नेदाउल ईश्लामको नाममा ८ कट्ठा जग्गा छ ।