कटहरी १९ माघ । मोरङको कटहरी गाउँपालिकामा वडाध्यक्ष कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
कटहरी ३ नम्बर वडा कार्यालयको आयोजनामा चौथो संस्करणको प्रतियोगिता शुरु भएको हो । स्थानीय खेल मैदानमा शुरु भएको प्रतियोगिताको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी,उपाध्यक्ष सीतादेवी राजवंशी र वडाध्यक्ष जदुलाल कामतले बलिङ तथा ब्याटिङगर्दै खेलको उद्घाटन गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको पूर्वाञ्चल क्रिकेट क्लब र कटहरी ४ नम्बर वडा कार्यालयको क्रिकेट क्लबबिच प्रतिस्पर्धा भएको छ । सो खेलमा पूर्वाञ्चलले कटहरी ४ को टिमलाई ६३ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको पुर्वाञ्चलले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रनको योगफल तयार पारेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको कटहरीको टिम १९ ओभरमा अल आउट हुँदै ८५ रनमा सिमित भयो । जितसंगै विराटनगरको टिमले सेमिफाईनलको यात्रा तय गरेको छ । प्रतियोगितामा विराटनगरसहित कटहरी र सुनसरीका ८ वटा क्रिकेट टिमहरुबिच प्रतिस्पर्धा हुने खेल तालिका छ ।
विराटनगरबाट पूर्वाञ्चल क्रिकेट क्लब एण्ड एकेडमी,मिल्स क्रिकेट क्लब,विराटनगर क्रिकेट क्लब,लायन्स क्रिकेट क्लब र होराईजन क्रिकेट क्लबगरि ५ वटा टिमले सहभागिता जनाई रहेका छन भने कटहरीको ३ नम्बर र ४ नम्बर वडाको टिम सहभागि छन । यस्तै सुनसरीबाट जिल्लास्तरिय टिम सुनसरी एलेभनले समेत सहभागिता जनाउने छ ।
प्रतियोगितामा लोकेश त्रिपाठी र पंकज गिरीले अम्पायरको जिम्मेवारी सम्हाल्नु भएको छ भने स्कोरिङमा दिपेन्द्र शर्मा र राहुल कामत हुनुहन्छ । वडाध्यक्ष कपको उपाधि बिजेतलाई नगद ४१ हजारसहित ट्रफी तथा मेडल र उपबिजेतालाई नगद २० हजार सहितको पुरस्कार प्रदान गरिने वडा कार्यालयले जनाएको छ ।
प्रतियोगिताको फाईनल प्रतिस्पर्धा माघ २६ गते हुने आयोजक समितिले जनाएको छ ।