विराटनगर १९ माघ । विराटनगरमा भगवान श्रीकृष्णको चरित्रमा आधारित धार्मिक कार्यक्रम रासलिला आयोजना हुने भएको छ ।

श्रीहरि सत्संग समिति नेपाल विराटनगर सम्भागको आयोजनामा विराटनगरमा ‘होलीको रंग रासलिलाको संग’ शिर्षकमा रासलिला आयोजना हुने भएको हो । मेनरोडस्थित अतिथि सदनमा आँउदो चैत ५ गतेदेखी ९ गतेसम्म ५ दिनसम्म रासलिला आयोजना गरिने आयोजक समितिले जनाएको छ । भब्यरुपमा आयोजनागर्न लागिएको रासलिला सम्पन्नगर्न ५ सय ५५ जना सम्मिलित मुल समिति गठन गरिएको छ ।

विराटनगरस्थित सत्यानारायण मन्दिरमा आयोजना गरिएको धार्मिक भेलाबाट मुल समिति संगै ३१ सदस्यिय कार्यसम्पादन समिति समेत गठन गरिएको श्रीहरि सत्संसग समिति नेपालका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरलले जानकारी दिनुभयो । रासलिला आयोजक समितिको संयोजकमा विराटनगर सम्भागका उपाध्यक्ष महेश स्वर्णकारलाई चयन गरिएको छ ।

सो अवसरमा बोल्नुहुदै राष्ट्रिय अध्यक्ष सरलले पछिल्लो समय हिन्दु धर्मावलम्बीहरुलाई तीब्ररुपमा धर्म परिवर्तन गराउने षड्यन्त्र भईरहेकाले त्यसबिरुद्घ सचेतना जगाउन र सनातन धर्मको रक्षागर्न रासलिला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । नवनिर्वाचित संयोजक स्वर्णकारले विराटनगरको सत्यनारायण मन्दिरमा दुई दशक अघिसम्म रासलिला आयोजना गर्ने गरिएपनि विविध कारणले दुईदशक यता रोकिएको बताउनुभयो । उहाँले दुई दशकपछि आयोजनागर्न लागिएको रासलिला भब्यरुपमा सम्पन्न गरिने बताउनुभयो ।

रासलिला प्रस्तुतगर्न बृन्दावनबाट २१ जना कलाकारहरुको टोली आमन्त्रण गरिने श्रीहरि सत्संग समिति नेपालका विराटनगर सम्भाग अध्यक्ष विद्यानन्द माझीले जानकारी दिनुभयो । उक्त धार्मिक कार्यक्रम सम्पन्नगर्न १० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

स्थानीय धर्मानुरागि दाताहरुबाट स्वेच्छिक दान रकम संकलन गरिने आयोजक समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु