विराटनगर ५ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी नेपालले बलिदानी दिवस बिशेष कार्यक्रम गरेको छ ।
सो अवसरमा पार्टीको जिल्ला कमिटिले विराटनगर सहित,कटहरी,जहदा र रंगेलीमा स्थापना गरिएको मधेश आन्दोलनका सहिदहरुको शालिक तथा प्रतिमामा माल्र्यापण गरेको छ । पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवको नेतृत्वको जिल्ला कमिटिका पदाधिकारीले शनिवार बिहानैदेखी विभिन्न स्थानमा पुगि माल्यार्पणका साथै शहिदप्रति सम्मान प्रकट गरेको हो ।

२०६२-०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन गरिएको थियो । माघ २ गते सुरु भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको ज्यान गएको थियो ।

उक्त घटनापछि मधेशभर आन्दोलन भएको थियो । सो क्रममा अन्यलेपनि सहादत प्राप्त गरेका थिए । पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधनगर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो ।

त्यही आन्दोलनको जगमा देशमा संघीयता र संविधान आएको जनाउँदै शहीदहरुको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको छ ।

सम्बन्धित खबरहरु