विराटनगर ५ माघ । अशोक राई नेतृत्वको जनता समाजबादी पार्टी मोरङ जिल्ला कमिटिले शहिदप्रति श्रद्धा ब्यक्तगर्दै बलिदानी दिवस मनाएको छ ।

मधेश केन्द्रीत दलहरुले माघ ५ गतेको दिनलाई बलिदानी दिवसकोरुपमा मनाउँदै आएका छन । २०६३ साल माघ ५ गते प्रथम मधेश आन्दोलनको क्रममा पहिलो पटक सिरहाको लहानमा रमेश महतो शहीद हुनुभएको थियो । प्रहरीको गोली लागेर मृत्यु भएपछि मधेशभर आन्दोलन चर्किएको थियो । सो दिनलाई मधेश केन्द्रीत दलहरुले बलिदानी दिवसकोरुपमा मनाउँदै आएका छन ।

सो अवसरमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी मोरङले विराटनगरसहित आसपासका पालिकाहरुबाट शहादत प्राप्त गरेका शहिदहरुको शालिकमा माल्यार्पण गर्नुका साथै शहिद परिवारसंग भेंटघाट गरेको छ । जसपाका मोरङ कमिटि अध्यक्ष मोहम्मद नसरुल नेतृत्वको टोलीले शनिवार बिहान विराटनगर १७ स्थित शहिद बेचन मियाँको शालिकस्थलमा विविध कार्यक्रम गरेको छ ।

सो क्रममा शहिद मियाँ सहित अन्य सबै शहिदहरुको सम्झनामा मौन धारण गर्नुका साथै शहिदको शालिकमा माल्यार्पण गरिएको थियो । टोलीले विराटनगर १४ जतुवाको बयरबनामा रहेको शहिद स्मारस्थलका साथै अन्य ठाउँहरुमा रहेको शहिदहरुको शालिकमा समेत मल्यार्पण गरेको छ ।

सो अवसरमा बोल्नुहुँदै मोरङ अध्यक्ष नसरुलले शहिदहरुको त्याग र बलिदानीकै कारण देशमा लोकतन्त्र र गणतन्त्र आएको बताउनुभयो । उहाँले शहिदहरुले देखेका सपना आंशिक पुरा भएपनि थप केहि पुरा हुन बांकी रहेको बताउनुभयो । उहाँले बांकी रहेका अधिकारपनि संघर्षबाटै हासिल गरिने दाबी समेत गर्नुभयो ।

मधेश आन्दोलनको क्रममा विराटनगर सहित आसपासका पालिकाबाट विराटनगरका मियाँसंगै सदानन्द यादव,राजकुमार कामत,तल्लू हेमरम,निर्मल राजवंशी र दिनदयाल मण्डलसहित ९ जनाले शहादत प्राप्त गरेको जनाईएको छ ।

कार्यक्रममा सो पार्टीका मोरङ सचिव विकास मण्डल,सहसचिव शंकर साह,सदस्य शंकर मण्डल,सोनेलाल महतो,महिलातर्फको प्रदेश कमिटि सदस्य मंजुदेवी शर्मा लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु