विराटनगर २३ पुष । थारु कल्याणकारिणी सभा (थाकस) मोरङमा पद स्वामित्वको बिषयमा देखिएको विवाद थप चुलिएको छ ।

सभाको मोरङ सभापति प्रदीपकुमार भगत र प्रदीपकुमार विश्वास समुहबिच बितेकोबर्ष देखी विवाद चल्दै आएको छ । दुवै समुहले आफुलाई बैधानिक सभापति दाबी गर्ने र एकअर्कालाई नस्विकारेकाले विवाद हुँदै आएको हो ।

विश्वासले २०८० चैत ७ गते बुढीगंगामा भएको निर्वाचनबाट आफु सभापतिमा निर्वाचित भएको दाबी गर्दै आउनुभएको छ भने भगत पक्षले केन्द्रले हालसम्म निर्वाचनको अनुमति नदिएकाले चैत ७ को निर्वाचन अबैधानिक रहेको बताउनुभएको छ । विवादकै श्रृंखलामा विश्वास समुहले मंगलबार विराटनगरस्थित थारु कल्याणकारिणी सभा भवनमा कार्यक्रम राखेपछि फेरी विवाद चर्किएको हो ।

सो भवनमा विश्वास समुहले ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीलाई सम्मानगर्ने कार्यक्रम राखेको थियो । उक्त कार्यक्रमलाई संस्थापन पक्षले रोक्न लगाएको छ । विश्वास समुहले अवैधानिकरुपमा सभापतिको हैसियतमा कार्यक्रम गर्न लागिएको भनेर प्रचारप्रसार गरेकाले कार्यक्रम रोक्न प्रहरी प्रशासनलाई जानकारी गराईएको संस्थापन पक्षले जनाएको छ ।

दुई पक्षबिच विवाद चर्किने देखिएपछि थारु भवनमा विहानैदेखी सुरक्षा ब्यवस्था कडा पारिएको थियो । संस्थापन पक्षले भवनमा ताला समेत लगाएकोले विश्वास पक्षले सो ठाउँमा गर्ने भनिएको कार्यक्रम बुढीगंगामा सारेको छ । बुढीगंगाको वडानम्बर ३ बउराहामा रहेको थारु संग्रहालय भवनमा कार्यक्रम गरिएको छ । आफुहरु झडप र विवाद निम्त्याउने पक्षमा नरहेकाले कार्यक्रम सारिएको विश्वास पक्षका सचिव प्रशान्त चौधरीले दाबी गर्नुभयो ।

सो बिषयमा प्रतिक्रिया दिनुहुँदै थाकस मोरङ सभापति प्रदीप कुमार भगतले विश्वास समुहले दाबी गर्दै आएको निर्वाचन अवैधानिक रहेको बताउनुभयो । उहाँले केन्द्रले निर्वाचन संयोजकको जिम्मेवारी दिएर पठाईएका जयराम पंजियार अवैधानिक गतिविधिमा संलग्न भएको पाईएपछि फागुन ३० गते उनको नेतृत्वको निर्वाचन मण्डलीलाई केन्द्रले नै बिघटन गरेको जानकारी दिनुभयो ।

बिघटन गरिएको निर्वाचन समितिले गराएको निर्वाचन बैध हुननसक्ने उहाँको भनाई छ । भगतले थाकसको विधान अनुसार सभापतिको उम्मेदवार बन्न एक कार्यकाल कार्यसमितिमा बसेर काम गर्नुपर्ने नियम रहेपनि विश्वास त्यसअघि कार्यसमितिमा नबसेको दाबी समेत गर्नुभयो ।

हालसम्म निर्वाचन नभएकाले केन्द्रले थाकसको २०८० चैत ३० गते बसेको केन्द्रीय कार्य संचालन समितिको बैठकबाट आफु नेतृत्वकै समितिलाई कार्य संचालनको जिम्मेवारी दिएको जानकारी समेत गराउनुभएको छ ।

सम्बन्धित खबरहरु