विराटनगर १३ पुष । तमु लोसार पर्व २०८१ को पुर्व सन्ध्यामा विराटनगरमा सदभावपुर्ण म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर ईकाइको आयोजनामा विराटनगरमा पुस १३ गते उक्त प्रतियोगिता आयोजना गरिएको हो । दौड प्रतियोगितामा पुरुषतर्फको प्रथम सुनसरीको दहबीका अशोक कुमार मण्डल, द्धितीय विराटनगर ६ का नितेश भट्टराई र तृतीय कटहरी बसन्त माझी घोषित भए ।

त्यसैगरी महिला तर्फको प्रथम आशिका ठाकुर, द्धितीय अनमिका चौधरी र तृतीय कमला चौधरी भइन् । त्यसैगरी ४० वर्ष माथिको दौडको प्रथम राजेश गुरुङ भए भने ४५ वर्षभन्दा माथि उमेर समूहको प्रथम रामकुमार सरदार र ५० वर्ष भन्दा माथिको प्रथम विद्यानन्द माझी घोषित भए ।

प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ३ हजार १ सय, २ हजार १ सय र १ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक संस्थाका सचिव राजेश गुरुङले बताए । प्रतियोगितामा आदिवासी जनजाति अन्र्तगतका १६ वटा जातजातिहरु गुरुङ,किराँत,राई,यायोक्खा,गन्गाई,झाँगड,उराँव,ताजपुरीया,तामाङ,थारु,दनुवार,धिमाल,नेवा,मगर,राजवंशी,भुजेल र धानुक लगायत समुदायका ब्यक्ती तथा युवायुवतीले सहभागिता जनाएका थिए ।

बिजेताहरुलाई पुस १५ गते विराटनगर ७ हाटखोलास्थित हरियाली पार्कमा हुने तमु लोसार बिशेष कार्यक्रमकाबिच पुरस्कार प्रदान गरिने तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइका उपाध्यक्ष श्याम कुमार गुरुङले जानकारी दिए । १ सय ५० भन्दा बढीले भाग लिएका थिए भने कार्यक्रममा पाँच सय बढीको सहभागिता रहेको थियो ।

दौड प्रतियोगिताको प्रमुख अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर ले उद्घाटन गरेका थिए । तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइका अध्यक्ष कबिमान गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तमु लोसार २०८१ को अवसर पारेर आइतबार साँझ विराटनगरस्थित जनआन्दोलन चोकमा दिप प्रज्जवलन कार्यक्रम गरिने तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइका प्रचार विभाग प्रमुख भली सुब्बाले जानकारी दिइन् ।

सम्बन्धित खबरहरु