मंसिर १५,विराटनगरस्थित सिंघीया खोलामा फेरीपनि बिष हालिएको छ । एक साता नबित्दै आपराधिक तत्वले दोश्रो पटक बिष हालिदिएका कारण खोलाका माछा सहितका जलचरहरु मरेका छन ।

बिष हालिएको एक साता नबित्दै विराटनगरस्थित सिंघीया खोलामा आपराधिक समुहले फेरीपनि बिष हालिदिएका छन । शनिवार एका बिहानैबाट मरेका माछाहरु पानीको सतह माथि तैरिन थालेपछि खोलामा माछा संकलन गर्नेहरुको भीड लाग्यो । यसपटक बिष हालिएपनि धेरै माछा देखिएको छैन ।

पहिलो पटक बिष हाल्दा माछा सहितका प्रायजसो सबै जलचर मरेका कारण यसपटक माछाको संख्या कम देखिएको कटहरी १ का स्थानीय कृष्ण मुखियाले जानकारी दिए । मंसिर ९ गते बिष हालिएको दिन ठुल्ठुला बोआरी,बामी र दरही सहितका माछा र पानीमा बस्ने सर्प, गंगटो पानीको सतह माथि निर्जीव भएर बग्दै गरेको अवस्थामा भेटिएका थिए ।

सो दिन खोला किनारका बासिन्दाले कयौं क्वीन्टल मरेका माछा संकलन गरेका थिए । खोलामा माछा मार्ने उद्धेश्यले आपराधिक तत्वद्वारा बिष मिसाउने गरिएको प्रबल आशंका गरिएपनि खोला किनारमा खोलिएका उद्योगहरुले हानिकारक केमिकल सिधै खोलामा मिसाउदापनि घटना भएको हुनसक्ने स्थानीयको आशंका छ ।

गएको बर्ष समेत यहि खोलामा बिष मिसाईएको र मंसिर ९ यता दुईपटक बिष हालिएका कारण जलचर मरेपनि सम्बन्धित निकायले चासो नदिएको स्थानिय मुन्नी कामतले बताईन ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले खोलामा बिष हाल्नेको खोजी भईरहेको छिट्टै नियन्त्रणमा लिईने दाबी गरे । प्रशासनले खोलामा बिष हाल्ने शंकास्पदको खोजी भईरहेको बताएपनि प्रदुषण वा उद्योगबाट खोलामा हानिकारक केमिकल मिसाउदा जलचर मरेका हुन कि भन्ने बिषयमा अनुसन्धान भएको छैन ।

पानीको नमुना जाँचगर्दा त्यो बिषय खुल्न सक्ने भएपनि त्यसतर्फ सम्बन्धित निकायले चसो दिएको छैन ।

सम्बन्धित खबरहरु