विराटनगर १२ बखरीमा ब्रह्म ग्रामस्थान निर्माणको उद्धेश्य सहित श्रीमद्भागवत सप्ताह ज्ञान धनधान्याञ्चल महायज्ञ शुरु भएको छ ।
बखरीस्थित स्कुल टोलमा शनिवारबाट महायज्ञ शुरु भएको हो । श्री बखरी ब्रहम ग्रामथान संरक्षण समिति एवम भागवत पुराण समितिको आयोजनामा महायज्ञ शुरु भएको हो । महायज्ञ शुरु गर्नुअघि सो ठाउँमा कलश यात्रा निकालिएको छ ।
पुराणस्थलबाट निकालिएको कलशयात्राका सहभागिले वडाको पश्चिमतर्फ रहेको पवित्र केशलिया खोलाबाट जल भरेका थिए । सो क्रममा कलशयात्राका सहभागिले ग्रामस्थान हुँदै दरैया,मल्हनवा,सिधुनन्द मार्ग,कामतचोकबाट पंचमुखीचोक लगायतका क्षेत्रको परिक्रमा गरेका थिए ।
कलशयात्रामा ५ सय ५१ जना महिलाले कलश बोकेका थिए भने एक हजार बढीको सहभागिता थियो । वडाभित्र रहेको प्राचिन ब्रह्म स्थानमा पर्खाल सहितका भौतिक संरचना निर्माणगर्ने उद्धेश्यसहित साताब्यापी श्रीमद्भागवत आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष केदारनाथ कामतले बताउनुभयो ।
साताब्यापि धार्मिक कार्यक्रम अन्र्तगत राष्ट्रियस्तरका कलाकारहरुद्वारा संगीतमय भजनका साथै झाँकीहरु समेत प्रस्तुत गरिने सचिव वीरेन्द्र कुमार साहले जानकारी दिनुभयो । महायज्ञमा बाल ब्यास पण्डित श्री कपिल देव चालिसेले कथा वाचन गर्नुहुने जनाईएको छ ।
महायज्ञबाट १५ लाख संकलन हुने लक्ष्य राखिएको विराटनगर १२ का वडा सदस्य कुशेश्वर राजवंशीले जानकारी दिनुभयो । मंसिर १५ गते बाट शुरु भएको महायज्ञ २२ गतेसम्म चल्ने छ ।