विराटनगरमा अन्तर्राष्ट्रियस्तरको बहुभाषिक कवि सम्मेलन सहित लोक सांस्कृतिक सम्मेलन हुने भएको छ ।

नेपाल तथा भारतका संस्थाहरुको संयुक्त सहकार्यमा सम्मेलन हुन लागेको हो । भारतीय संस्था राष्ट्रिय कला सेवा संस्थानले विराटनगरस्थित आभा फाउण्डेशनसंग सहकार्यगर्दै कार्यक्रम आयोजनागर्न लागेको हो । आयोजक संस्थाहरुले आईतबार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएका हुन ।

आउदो पुष ५ र ६ गते विराटनगरस्थित सिटि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा बोल्नुहुँदै भारतीय संस्था राष्ट्रिय कला सेवा संस्थानका अन्तर्राष्ट्रिय संयोजक अरविन्द श्रीवास्तव ‘चित्रांश’ ले नेपाल तथा भारतको मौलिक भाषा संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरसम्म उजागरगर्ने उद्धेश्य सहित कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

उहाँले सम्मेलनमा नेपाल, भारतका साथै श्रीलंका,फिजी लगायतका अन्य मुुलुकबाट समेत कवि तथा सहभागिहरु आमन्त्रण गरिने जानकारी गराउनुभयो । आभा फाउण्डेसन नेपालका निर्देशक आभा अनुपमाले सम्मेलनमा बहुभाषिक कवि सम्मेलनका साथै नेपाल तथा भारतका विभिन्न समुदायका मौलिक पहिरण झल्किने फैशन शो समेत आयोजना गरिने बताउनुभयो ।

कार्यक्रममा आयोजना गरिने फैशन शो लगायतका अन्य लोक सांस्कृतिक कार्यक्रमले स्थानीय प्रतिभाहरुले अन्र्तराष्ट्रिय पहिचान स्थापित गर्न सघाउ पुग्नुका साथै अन्यत्रका संस्कृतिसंग साक्षात्कार गर्न समेत मदत मिल्ने उहाँले बताउनुभयो ।

आईडियल जर्नलिस्ट एशोसिएशन भारतका राष्ट्रिय महासचिव संजय कुमार पाण्डे ‘सरस’ ले दूई दिने सम्मेलनमा भारतीय सिने क्षेत्रका स्टारहरु मनोज तिवारी,रवि किशन तथा अक्षरा सिंह सहितका बलिउडका दर्जनौं कलाकारहरुको समेत सहभागिता रहने जानकारी गराउनुभयो ।

अन्तर्राष्ट्रिय साहित्यिक एवं सांस्कृतिक संगम नेपाल शिर्षकमा कार्यक्रम हुन लागेको हो । नेपालमा पहिलो पटक विराटनगरमा आयोजना हुन लागेको सो कार्यक्रम काठमाण्डौ,विरगंज र जनकपुर लगायतमा समेत आयोजना गरिने जनाईएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय भोजपुरी संगम नेपालका अध्यक्ष पूजा बहार,भोजपुरी गीतकार सोहनलाल गुप्ता ‘स्नेहिल’,भोजपुरी गायिका रोशनी गोड,युवा अभियन्ता चाँद ईराकी तथा आभा फाउण्डेशनकी सदस्य साधना झा लगायतको सहभागिता थियो ।

सम्बन्धित खबरहरु