कटहरी । नेपाली सेना संगको समन्वयमा कटहरी गाउँपालिकामा विपद् सचेतना एवं खोज तथा उद्धार तालिम शुरु भएको छ ।

नेपाली सेनाको श्री भैरव गण थलहा ब्यारेक र कटहरी गाउँपालिकाको संयुक्त आयोजनामा २ दिने संयुक्त सामुदायिक विपद प्रतिकार्य तालिम शुरु भएको हो । तालिममा गाउँपालिकाको वडा समितिहरुमा गठन गरिएको स्थानीय विपद् ब्यवस्थापन समितिका सदस्यहरुका साथै स्थानीय प्रहरी चौकीका प्रहरीहरु,कटहरी गाउँपालिकाका नगर प्रहरी तथा पालिकाका विभिन्न शाखाका प्रमुखहरु समेत गरेर ६० जनालाई सहभागि गराईएको कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज कुमार साहले जानकारी दिनुभयो ।

सहभागिलाई मनसुनजन्य विपद्का साथै आगजनी न्यूनिकरण,प्रतिकार्य तथा रोकथाम लगायतका बिषयमा प्रशिक्षण दिईने उहाँले जानकारी दिनुभयो । तालिमको उद्घाटन सत्रमा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले नेपाली सेनासंगको सहकार्यमा आयोजना गरिएको तालिम विपद्का बेला खटिने पालिकाका कर्मचारी तथा स्थानीय विपद् ब्यवस्थापन समितिका सदस्यहरुका निम्ति लाभदायक हुने बताउनुभयो ।

तालिमको पहिलो चरणमा सैद्धान्तिक प्रशिक्षण दिईने तथा दोश्रो चरणमा प्राक्टिकल तालिम समेत गराईने उहाँले जानकारी दिनुभयो । अध्यक्ष चौधरीले सम्भावित जोखिम न्यूनिकरणमा समेत यस प्रकारको तालिम फलदायि हुने विश्वास समेत ब्यक्त गर्नुभयो ।

श्री भैरव गण थलहा ब्यारेकका प्रमुख सेनानी,गणपति असिम श्रेष्ठले तालिमको पहिलो चरणमा मनसुनजन्य विपद्लाई प्राथमिकतामा राखेर सहभागिलाई प्रशिक्षण दिईने जानकारी दिनुभयो । उहाँले दोश्रो चरणमा आगलागिजन्य विपद्को बिषयमा प्रशिक्षण दिईने बताउनुभयो ।

तालिमका सहभागिलाई श्री भैरव गण थलहा ब्यारेकका प्रमुख सेनानी श्रेष्ठका साथै सेनानी प्रवीण थापा र उप–सेनानी रिना विश्वकर्मा लगायत नेपाली सेनाका तालिम प्राप्त बिषय विज्ञ प्रशिक्षकहरुले तालिम दिने जनाईएको छ ।

सम्बन्धित खबरहरु