विराटनगर २१ जेठ । पर्यावरण संरक्षणको उद्धेश्य सहित नेपालका संघसंस्थाहरुले भारतका विभिन्न शहरस्थित देवस्थलहरुमा बृक्षारोपण गरेका छन ।

भारतीय संस्थासंगको समन्वयमा प्रकृति र संस्कृति संरक्षणको उद्धेश्यसहित भारतका १० वटा देवस्थलहरुमा बृक्षारोण गरिएको हो । नेपालबाट गएको टोलीले भारतको अररिया जिलास्थित सुन्दरनाथ धाम, अररिया कोर्ट र अररिया आरएस सहित,रानीगंज,बसैटी,तेगछिया र फारबिसगंज लगायतका शहरहरुमा रहेका देवस्थलहरुमा जेठ १९ गते बृक्षारोपण गरेको हो ।

नेपाली टोलीले देवबृक्ष मानिने शिवलिङको बिरुवा,रुद्राक्ष र तुलसी लगायतका हिन्दू अध्यात्मसंग जोडिएका बिरुवाहरु बृक्षारोेपण गरेको हो । नेपाल सोनार समाज फाउण्डेशनको नेतृत्वमा,जनकपुर धाम बन प्राबिधिक समाज,भारत नेपाल सामाजिक सांस्कृति मंचले भारतको महिला कल्याण समिति,ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र अररियाको समन्वयमा विभिन्न शहरहरुमा बृक्षारोपण गरिएको छ ।

संयुक्त बृक्षारोपणले पर्यावरण संरक्षणमा सघाउ पुग्ने जनकपुर बन प्राबिधिक समाजका महासचिव सुरेश शर्माले बताए ।

केहि समययता नेपाल सोनार समाज फाउण्डेशनले नेतृत्वगर्दै पर्यावरण संरक्षणमा साहायक हुने तथा बढी अक्सिजन दिने बिरुवाहरुको बृक्षारोपण गर्दै आएको नेपाल सोनार समाज फाउण्डेशनका अध्यक्ष महेश स्वर्णकारले बताए । यसअघि नेपालका विभिन्न शहरमा आफुहरुले देव बृक्ष रोपण गरेपनि भारतमा पहिलो पल्ट बृक्षारोपण गरिएको उनले बताए ।

फाउण्डेशनलाई जनकपुरधाम बन प्राबिधिक समाजले बिरुवाहरु उपलब्ध गराएको छ । बृक्षारोपण गरिएका बिरुवाहरुमध्ये शिवलिङको आकृतिमा फुल्ने बिरुवा अति दुर्लभ मानिन्छ ।

यो विरुवा तत्कालिन राजा विरेन्द्रलाई भारत भ्रमणको बेला दक्षिण भारतका शंकराचार्यले ३ दशक अघि उपहारस्वरुप प्रदान गरेका थिए । पछि उक्त बिरुवा जनकपुरधामस्थित जानकी मन्दिरको शतबार्षिकीको अवसरमा विवाह मण्डपमा रोपिएको थियो ।

सोहि रुखबाट अन्य बिरुवाहरु उत्पादनगरि टोलीले नेपाल तथा भारतका शहरहरुमा बृक्षारोपण गरेको हो । देवबृक्ष रोपण कार्यलाई आफुहरुले अमुल्य कोसेलीकोरुपमा लिएको ब्रम्हकुमारी राजयोगमा आबद्ध समाजसेवी चाँद मिश्राले बताउनुभयो ।

कार्यक्रम अन्र्तगत भारतका १० स्थानमा देवबृक्ष रोपण गरिएको भारत नेपाल सामाजिक सांस्कृति मंचका अध्यक्ष राजेश शर्माले बताउनुभयो । नेपालका संस्थासंगको समन्वयमा आगामी दिनहरुमा समेत बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिईने शर्माले बताए ।

नेपाली टोलीलाई ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र अररियाकी निर्देशिका बिके उर्मिला दिदी, सेवा केन्द्र आबद्ध संजय गुप्ता र महिला नेतृ सुश्मिता ठाकुरले बिशेष सहयोग गरेका थिए ।

बृक्षारोपण गरिएका बिरुवाहरुको संरक्षणगर्ने जिम्मा सम्बन्धित देवस्थल र स्थानिय समाजसेवीहरुले जिम्मा लिएका छन ।

सम्बन्धित खबरहरु