१५ जेठ २०८१ । विराटनगरमा प्राणीशास्त्र सम्बन्धि एकदिने सेमिनार तथा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
डिग्री क्याम्पस विराटनगर र नेपाल जुलोजिकल सोसाईटी कोशी प्रदेशको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा ५ दर्जन विद्यार्थी तथा प्राणीशास्त्रीहरु सहभागी भएका छन । कार्यक्रमको पहिलो चरणमा २०७८ सालयता कक्षा ११ र १२ मा लागू भएको जुलोजी पाठ्यक्रमको सिलेबस,परीक्षा प्रणालीमा भएको कमि कमजोरीका बिषयमा समिक्षा तथा छलफल गरिएको थियो ।
सो बिषयको उठान गर्नुहँदै जुलोजिकल सोसाईटीका केन्द्रीय सदस्य सोमप्रसाद निरौलाले कार्यपत्र प्रस्तुत गर्नुभयो । छलफलको क्रममा सहभागिले पाठ्यक्रम तथा परीक्षा प्रणालीमा ब्यापक सुधार गर्नुपर्ने सुझाव दिएका थिए । उनिहरुले कोर्षको डिजाईन बेमेल हुनुका साथै जुलोजीको कपि बोटनीलाई र बोटनीको कपि जुलोजीको शिक्षकलाई काट्न लगाउने गरिएको दाबी समेत गरेका थिए ।
छलफलबाट निकालिएको निचोडलाई पाठ्यक्रम सुधारको उद्देश्य सहित राष्ट्रिय परीक्षाबोर्ड माफर्त नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रमा पठाईने नेपाल जुलोजिकल सोसाईटी कोशी प्रदेशका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । यस्तै कार्यक्रमको दोश्रो चरणमा जुलोजिष्टहरुको क्षमता विकास र खोज अनुसन्धानमा प्रेरीतगर्न साईन्टिफिक स्क्रिप्ट राईटिङ सम्बन्धि प्रशिक्षण दिईएको थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका निर्देशक जीवन गडतौला,नेपाल जुलोजिकल सोसाईटी कोशी प्रदेश अध्यक्ष शालिग्राम अधिकारी,डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख ढक बहादुर मगर,साहायक प्रमुख मिलन खरेल,त्रिविका प्राडा शिवकुमार राई,सह प्राध्यापक कुल प्रसाद लिम्बू र प्राणीशास्त्री डाक्टर भरतराज सुब्बा लगायतको सहभागिता थियो ।
जुलोजिकल सोसाईटी कोशीमा एक सय बढी प्राणीशास्त्री आबद्ध रहेको जनाईएको छ ।