विराटनगर । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ ।
नेपाल पत्रकार महासंघको ६९ औं स्थापनादिवसको अवसरमा महासंघको मोरङ शाखाले प्रभातफेरी आयोजना गरेको हो । विराटनगरको वडानम्बर ९ कलेजरोडमा रहेको महासंघ भवनबाट निकालिएको प्रभातफेरीले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको छ ।

प्रभातफेरीका सहभागिले कलेजरोडबाट ट्राफिकचोक,महेन्द्रचोक,शनिमन्दिरचोकबाट मेनरोड हुँदै फेरी महासंघ भवनमा पुगेर समापन भएको थियो । प्रभातफेरीका सहभागि संचारकर्मी तथा पत्रकारहरुले ‘सञ्चार न्याय र विधिको शासनलाई महत्व दिऔं’,‘आजको आवश्यकता प्रविधिसंगै पत्रकारिता,मर्यादित पत्रकारिता’ सहित ‘प्रेस स्वतन्त्रता हाम्रो सरोकार’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

महासंघ पुगेर प्रभाफेरी कोणसभामा परिणत भएको थियो । सो अवसरमा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले संचारकर्मीहरुले समाजमा भएका विकृति विसंगितका बिरुद्ध थप शसक्त भएर समाचार सम्प्रेषण गर्नुपर्ने आग्रह गर्नुभयो ।

उहाँले समाचार माध्यममा गरिने स्वस्थ्य आलोचनाले बिकृति विसंगतिहरुलाई अन्त गर्न तथा परिपाटिहरु सुधार्न सघाउ पुग्ने धारणा समेत ब्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष यज्ञ शर्माले नेपाल पत्रकार महासंघ संचारकर्मी तथा पत्रकारहरुको साझा संस्था रहेको बताउनुभयो । उहाँले महासंघले पत्रकारहरुको पेशागत सुरक्षा र क्षमता अभिबृद्धिका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

महासंघकै पुर्व अध्यक्ष बन्धु पोखरेलले वर्तमान समयमा पत्रकारिता पेशामा टिकिरहन चुनौतीपुर्ण रहेको बताउनुहुँदै आफ्नो क्षमता तथा सामर्थ अभिबृद्धिमा पत्रकारहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासंघ आबद्ध पत्रकारहरुका साथै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की सहित गैर सरकारी संस्था महासंघ,ईन्सेक,माईती नेपाल लगायत बृद्धिजीविहरुको सहभागिता थियो ।

सम्बन्धित खबरहरु