विराटनगर । मैथिली एसोसिएशन नेपालले विराटनगरमा मैथिली होली महोत्सव आयोजना गरेको छ ।
एसोसिएशनले विराटनगर १४ को डिग्रि कलेज परिसरमा महोत्सव आयोजना गरेको हो ।
एसोसिएशनले महोत्सवमा समुदाय भित्रका विभिन्न वर्ग समुहलाई सहभागि गराउनुका साथै मैथिली खानपानको स्टल र मिथिला चित्रकलाको प्रर्दशनी सहित कार्यक्रम गरेको छ । सो अवसरमा होली बिशेष सांस्कृतिक झाँकी समेत आयोजना गरिएको थियो ।
मैथिली परम्परा अनुसार होलीको गरिमाका कायम राख्न र सर्वसाधारणलाई होलीको मौलिक परम्पराका बिषयमा जानकारी गराउन होली महोत्सव आयोजना गरिएको एसोसिएशनका अध्यक्ष प्रवीणनारायण चौधरीले बताउनुभयो । कार्यक्रममा मैथिली भाषाभाषि विभिन्न जातिय समुहले होली बिशेष गित प्रस्तुत गरेका थिए ।
सो अवसरमा गायक सुमित खडकाले समेत आफ्ना प्रस्तुती राख्नुभयो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल,प्रदेश सभा सदस्य भीम पराजुली,विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला,जिल्ला समन्वय समितिका उपाध्यक्ष उषा झा,जनता समाजबादी पार्टी नेपालका मोरङ अध्यक्ष राजकुमार यादव लगायतको सहभागिता थियो ।
कार्यक्रमको मंच संचालन उपाध्यक्ष पंकज वर्माले गर्नुभएको थियो ।